इलाम/ इलामको नेपाल भारत सीमा क्षेत्रकोसाढे ५२ किलोमिटर सिमानामा ७ वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएकाछन ।
नेपालको भारतीय सीमा क्षेत्र सुरक्षाका लागि सशस्त्र प्रहरी बलका बोर्डर अब्जर्भेसन पोस्ट (बिओपी) धमाधम स्थापना गरिएको हो । भारतसँग जोडिएको इलामको सिमानामा ६ बिओपी स्थापना भईसकेका छन भने माने भञ्ज्याङमा भने बाँकि रहेको छ । यहाँ स्थापनाको लागि काम भईरहेको छ ।
साढे ५२ किलोमिटर सिमा सुरक्षाका लागि यसअघिसम्म पशुपतिनगरमा मात्रै बिओपी थियो । स्थानीय तहको समन्वयमा स्थानीय नागरिकले उपलब्ध गराएको जमिनमा बिओपी स्थापना गरिएको हो ।सीमाक्षेत्रका सलकपुर, समालबुङ, कालपोखरी, जौबारी, मानेभञ्ज्याङ र छब्बिसेमा पनि बिओपी राखिएको हो । सबै बिओपीमा इन्स्पेक्टरको कमान्डमा ३५÷३५ सुरक्षाकर्मी रहने पशुपतिनगरस्थित सशस्त्र प्रहरीको बिओपीका इन्स्पेक्टर नवीन खतिवडाले बताए ।
समालबुङमा स्थानीय टेकबहादुर खत्री, विष्णुकुमार खत्री, तारादेवी खत्री र कुलबहादुर खत्रीले ५ रोपनी जग्गा दिएका छन् । सलकपुरमा स्थानीय लाखमान तामाङले ६ रोपनी जग्गा बिओपीका लागि प्रदान गरेका छन् । अन्य ठाउँमा कतै विद्यालय त कतै स्थानीयले जग्गा उपलब्ध गराएरै स्थापना गरिएको छ ।
इलामले छोएको दशगजा र आसपासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का २६ बिओपी र एउटा प्रहरी चेकपोस्ट छन् । सीमा क्षेत्र सुरक्षाकै लागि भारतपट्टि २÷२ किलोमिटरमा बिओपी रहका छन । नेपालतर्फ पशुपतिनगरमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय छ।
छिरुवा, मानेभञ्ज्याङ र कालपोखरीमा प्रहरी चौकीमात्र रहेको कारण सिमामा समस्या हुने गरेको थियो । थप ६ वटा विओपि स्थापना ले सिमाको समस्या समाधानमा केही सहज भएपनि अझै अपुग रहेको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले बताए ।
उनले भने ‘ भारतका एसएसवि जवान खुलेआम नेपाली भूमिमा हिँड्ने गरेका छन त्यसलाई रोक्न साढे ५२ किलोमिटरमा ७ वटा विओपी निर्माणले मात्र नहुने र अझै थप गर्नुपर्ने बताए ।’
सन्दकपुर गाउँपालिका ५ जौवारीमा स्थापना भएको विओेपीको उद्घाटन गर्न आएका प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सिमानामा हुने हत्या हिँसा र अवैध व्यापारको अन्त्य भएको बताएका छन । विओपी मात्र हैन विओपी सँगै अव प्रदेश एकका सिमा क्षेत्रमा छोटी भञ्सारको पनि स्थापन गदै जाने कार्किले बताए ।
प्रदेश नम्बर एकका कृषि तथा सहकारी मन्त्री राम बहादुर रानाले सिमानाका पिलर जोगाउन र नेपाली भूमिको रक्षाको लागि सशस्त्र प्रहरीबलले मूख्य रुप पाएको भन्दै अझै आवश्यक रहेका ठाउँमा पनि विओपी स्थापना गर्न पहल गर्ने बताए ।
दशगजा र नेपाली भूमिपट्टि भारतले बेला–बेला अतिक्रमण, नेपालीमाथि अभद्र व्यवहार गर्ने घटना दोहोरिने गरेका छन् ।
त्यतिमात्र होइन, भारतीय पक्षले यो क्षेत्रको दशगजाका ठाउँ–ठाउँमा सरकारी स्कुलसहित गुम्बा र निजी संरचनासमेत बनाएको छ । तर, नेपाली भूमिमै बन्न लागेका संरचनामा भने धाकधम्की दिँदै अवरोध गर्नेगरेको छ । ‘विओपी स्थापना हुन थाले सँगै यतिवेला सीमाक्षेत्रको विवाद मत्थर रहेको छ ।
सुरक्षा स्थिति फितलो हुँदा कतिपय सीमास्तम्भसमेत गायब भइसकेका छन् । जिल्लाले छोएको भारतीय सीमामा १७ मुख्य सीमास्तम्भ हुनुपर्नेमा १६ वटामात्रै फेला परेका छन् ।
रोङ गाउँपालिका–६, मेचीखोलाको ८१ पिपी–१० नम्बरको सीमास्तम्भ गायब छन् । एउटा सीमास्तम्भ हराएको भएपनि गाडिएको स्थान भने पत्ता लगाउन सकिने ठाउँमा पाइएको छ । भएका १६ मध्ये पनि १२ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन् भने साढे ५२ किलोमिटर दूरीमा ४ मुख्य सीमास्तम्भ मात्रै सग्ला पाइएको सशस्त्रले जनाएको छ ।