लुमन्तीको सहयोगमा बनेका योजनाको अनुगमन

  • मंसिर ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटचोकः आवासका लागि सहयोग समूह लुमन्तीले सुन्दरहरैंचाका विपन्न र लक्षित समुदायका लागि निर्माण गरेका भौतिक पूर्वाधारको अनुगमन गरिएको छ ।

वडा नम्बर ४, ५ र ६ मा निर्माण भएका योजनाको अनुगमन गर्ने क्रममा सहभागीले लुमन्तीको सहयोगको प्रशंसा गर्दै विपन्न र लक्षित वर्गको सीप विकासमा पनि सहयोग गर्नुपर्ने बताएका थिए । लुमन्तीकी सुन्दरहरैंचा प्रमुख लक्ष्मी राईले यसअघि सीप विकास तालीम पनि दिइएको र यसपटक हालै निर्माण सम्पन्न भएका भौतिक पूर्वाधारकोे अनुगमन गरिएको बताइन् ।

लुमन्तीले वडा नम्बर ४ को चरिगुवाको सुकुम्बासी बस्ती शिवालय टोलमा २० फुटको सडक एजिङसहित निर्माण गरेको छ । राईका अनुसार सो स्थानमा पहिले सानो गल्ली थियो, जुन गल्ली पानी पर्दा हिलो हुन्थ्यो । बटो बढाउने क्रममा सुकुम्बासी बस्ती र अन्य स्थानीयलाई मनाउन ठूलै कसरत गर्नुपरेको राईले बताइन् ।

शिवालय टोल विकास संस्थाकी अध्यक्ष चन्द्रकला चौधरीले यहाँका ४० घरमध्ये ३ घरको मात्रै लालपूर्जा भएको बताइन् । यो बाटो पिच बन्छ भनेर भन्नुभएकोले त्यसैको आशमा रहेको चौधरीले बताइन् ।

वडा नम्बर ५ को डिपू नमूना बस्तीका ४८ परिवारलाई घर मर्मतको लागि सहयोग गरेको राईले बताइन् । सो बस्तीमा सामुदायिक वनको जग्गामा ५३ परिवार रहेका छन् । मुसहर समुदायको बाहुल्यता रहेको सो बस्तीमा केही मुस्लिम परिवारको पनि बसोबास रहेको छ । लुमन्तीले घर मर्मतमा सहयोग गरेको र वडाले बाटो मर्मत गर्न सहयोग गरेको ऋषिदेव नमूना टोल विकास संस्थाका अध्यक्ष कलाचन ऋषिदेवले बताए ।

उनका अनुसार सो बस्तीका अधिकांश खोलामा बालुवा चालेर तथा जंगलमा गएर दाउरा खोजेर ल्याएर गुजारा गर्ने गर्छन् । कहिलेकाहीँ वन समितिका रुँगालुले दाउरा खोसिदिने गरेको उनले गुनासो गरे । आफ्नो समुदाय शिक्षा क्षेत्रमा पछि परेको उनले बताए ।
वडा नम्बर ६ को सिसौंघारीमा रहेका ३३ घरमध्ये २५ घरलाई घर मर्मतका लागि संस्थाले ३० हजार रुपैयाँका दरले सहयोग गरेको राईले बताइन् । खोलामा मजदुरी गर्नुका साथै सिटी सफारी र अटो रिक्सा चलाएर गुजारा गर्ने बस्तीबासीमा चेतनाको विकास रहेको उनको भनाइ थियो ।

बाटो निर्माण उपभोक्ता समितिका सचिव सुरेश विश्वकर्माका अनुसार दलितहरुको सो बस्तीमा पहिले सरसफाइसम्बन्धी चेतना थिएन । शौचालयविहीन सो बस्तीमा नगरपालिकाको पहलमा अहिले शौचालय बनेको छ । लुमन्तीले पहिलो पटक गरेको सहयोगमा बाटो चौडा बनाउनुका साथै इन्टरलक इँटा बिछ्याउने काम भयो । अहिले बस्ती सुन्दर देखिएको छ । बाटोको छेउमा फूल र फलफूलका बिरुवा रोप्ने योजना रहेको पनि उनले बताए ।

विश्वकर्माका अनुसार छोराछोरीले पढे हुन्थ्यो भन्ने चाहना राख्ने सो बस्तीका बालबालिका सामुदायिक र संस्थागत दुवै किसिमको विद्यालयमा पढिरहेका छन् । वडा कार्यालयबाट राम्रो सहयोग पाइरहेको र अब आफ्नो टोलमा पुस्तकालय र बाल विकास केन्द्रको खाँचो रहेको विश्वकर्माले बताए ।

राईका अनुसार २०१७ अगस्टदेखि सुन्दरहरैंचामा कार्यरत लुमन्तीको ३ वर्षे अवधि गत अगस्टमा सकिए पनि कोभिडका कारण अवधि थप भएको बताइन् । सुन्दरहरैंचामा समुदाय, स्थानीय सरकार र सरोकारवालाको राम्रो सहयोग पाएको हुनाले काम गर्न सहज भएको उनले बताइन् ।

अनुगमनमा सहभागी जिल्ला समन्वय समिति मोरङका अध्यक्ष नरेश पोखरेलले भौतिक पूर्वाधार निर्माणका साथै समुदायलाई दीर्घकालीन रुपमा आत्मनिर्भर बनाउने खालका योजना पनि सञ्चालन गर्नुपर्ने बताए ।

प्रशिक्षक हुने गरी लामो अवधिको सीप विकास गराउनुपर्नेमा उनले जोड दिए । ‘गरिबी निवारणका कार्यक्रमलाई जोड्नुभयो भने स्थानीय तहले पनि समन्वय गर्न सक्छन्,’ पोखरेलले भने, ‘नत्र संस्था रहेसम्म वाहवाह हुन्छ, त्यसपछि मानिसले सहयोग गरेको नै बिर्सिन्छन् ।’
सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङले लुमन्तीले आवास र सीप विकासका क्षेत्रमा स्थानीयलाई सहयोग गरिरहेको बताइन् । विपन्न र लक्षित वर्गका लागि भएका धेरै कार्यक्रम तथा उपमेयर आत्मनिर्भर कार्यक्रम सञ्चालन गरेर पिछडिएको बस्तीको विकासमा सहयोग गर्न सकिने बताइन् ।

lumanti anugaman  (2) lumanti anugaman  (4) lumanti anugaman  (3)

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved