धरानः प्रदेश नम्बर १ को दुई जिल्लामा भएको दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङको बिराटनगर १२ शुक्रबारे हाटका २६ बर्षीय घनश्याम कामतको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको हो ।
शनिबार राति ९ः४५ मा को१८प ४८३१ नम्बरको मोटरसाईकल बिजुलीको पोलमा ठोकिदा घाइते भएका मोटरसाईकल चालक घनश्याम कामतको उपचारको क्रममा न्युरो हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सोही मोटरसाईकल पछाडी सवार रहेका २० बर्षीय राजेश कामत र ४ बर्षीया सोनु कामत समेत घाईते भएका छन् । उनीहरुको उपचार भईरहेको छ ।
यस्तै, उदयपुरको उदयपुरगढी ७ नेपाल्टारमा मोटरसाईकलको ठक्करबाट सोही स्थानका १८ बर्षीया निर्मला बिकको मृत्यु भएको छ। आज विहान ८ बजे स ९ प ४७२ नम्बरको मोटरसाईकलले पैदल यात्री निर्मलालाई ठक्कर दिदा उनी गम्भिर घाइते भएकी थिईन ।
घाईते निर्मलाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मोटरसाईकल र मोटरसाईकल चालक उदयपुरगढी ८ का १९ बर्षीय मेसक राई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।