धनकुटा÷धनकुटाको चौबिसे गाउँपालिकाले आमालाई खाना शिशुलाई नाना कार्यक्रम शुरु गरेको छ ।
गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत यस वर्षदेखि आमालाई खाना शिशुलाई नाना कार्यक्रम संचालन गरेको हो ।
गाउँपालिकाको ८ वटै वडाहरुमा शुरु गरिएको यस कार्यक्रम निरन्तर रुपमा संचालन हुनेछ । सो कार्यक्रम चौबिसे गाउँपालिका–१ का सन्तकुमार मगर र सबिता मगर, वडा नं. २ को टंक लिम्बू र बालकुमारी लिम्बू, शेरबहादुर लिम्बू र संगिता लिम्बू, सुरेन्द्र लिम्बू र अनिता लिम्बू, वडा नं. ३ का शिव तामाङ र शुभमाया तामाङ, बुद्धिराज याखा र उषा याखाको परिवारमा गएर सुत्केरी आमालाई खाना र नवजात शिशुलाई नाना वितरण गरेर यो अभियान शुरु गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाल, सम्बन्धित वडाका वडाध्यक्षले सुत्केरी आमालाई चामल, तेल, मसला, सेनिटेरी प्याड र नवजात शिशुलाई न्यानो कपडा हस्तारण गरेका छन् ।
सो अभियान अन्तरगत सुत्केरी आमालाई खाना शिशुलाई नाना वितरण गर्न जाने क्रममा स्वास्थ्यकर्मीहरु पनि सहभागी हुने गर्दछन् । स्वास्थ्यकर्मीहरुले सुत्केरी महिला र उनको परिवारलाई प्रत्यक्ष भेटेर सुत्केरी महिलाले आफु र बच्चाको स्वास्थ्यको विषयमा ध्यान दिनु पर्ने विषयमा सहजीकरण गर्ने गर्दछन् ।
अहिले पनि स्वास्थ्य सम्बन्धी सामान्य जानकारी नभएका कारण गाउँ–गाउँमा धेरै आमा बच्चाहरुले अनाहकमा ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ । कतिपय कुपोषणको सिकार बन्नु पर्ने अवस्था रहेको छ । यो अभियानले मातृशिशु मृत्यूदरलाई घटाउनुको साथै सुत्केरी महिलाहरुलाई स्वास्थ्य जनचेतना जगाउने उद्देश्यले पनि आमालाई खाना शिशुलाई नाना कार्यक्रम शुरु गरिएको गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए ।
कतिपय गरिब तथा विपन्न परिवारहरुमा स्वास्थ्य जनचेतनाको अभावले अहिले पनि सुत्केरी महिला र नवजात शिशुहरु जोखिममा रहेका छन् । उनीहरुले भनेको समयमा खान लाउन पाउँदैनन् । त्यसैले कम्तीमा पनि गाउँपालिकाले गरेको थोरै सहयोगबाट उनीहरुलाई केही राहत पनि पुग्न र स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यो अभियान शुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताईन् ।