विराटनगर । विगत वर्षमा दसैंका बेला भारतीय बजार जोगबनीमा खुट्टा टेक्ने ठाउँ हुँदैन थियो । किनमेलका लागि नेपालहरुको रोजाईको बजार मानिने जोगबनीमा मानिसको भिंड थेगिनसक्नुको हुन्थ्यो । नेपाली ग्राहककै भरमा व्यापार चलाएका भारतीय बजार जोगबनीको यो पटकको हवस्था भने कहालीलाग्दो छ । बजार र पसल खुलेका छन । बिक्रेता ग्राहक कुरेर पनि बस्छन् । तर, किनमेल गर्न आउने ग्राहक चैं छँदै छैनन् ।
नेपाल–भारत सीमामा १, २ र ३ नम्बर ढाट लगाइएको छ । पारिबाट अहिले पनि फाट्फुट्न नेपालीहरु आउने क्रम चलिहरेको छ । सीमामा खटिएका सुरक्षाकर्मीले २४ घण्टा नै निगरानी बढाएका छन । सीमापार व्यापार पूर्णत प्रभावित बनेको बेला नेपालीहरु किनमेल गर्न जान पूर्णत बन्देज लगाइएको छ । भारत जानुपर्नेे भए नयाँ भन्सार कार्यालय (आईसीपी) को बाटो भएर जानुपर्छ । सीमामा खटिएका सुरक्षाकर्मीका अनुसार गत चैत महिनामा लकडाउन शुरु भएयता पारि जोगबनी नेपाली किनमेल गर्न गएका छैनन । आईतबार दिउँसो जोगबनी नाका पुग्दा जोगबनी बजारमा पसल खलेका थिए । तर, भिंड थिएन । मानिसको आउजाउ थिएन ।
पारिबाट नेपाल प्रवेश गर्नुपर्ने नेपाली फाट्टफुट्ट आईरहेका थिए । तीमध्ये पनि धेरै त भारतीय सुरक्षा निकायमा कार्यरत भारतीय आर्मीका जवानहरु थिए । एक सुरक्षाकर्मीले भने,“पारि बजार खुल्छ तर किनमेल गर्न जाने नेपालीहरु छैनन् ।” पारिपट्टि भारतीय सीमा सुरक्षाका जवानहरुले पनि नियमित र २४ घण्टा गस्ती तथा निगरानी गरिरहेका छन । जोगबनीसम्म प्रदेश १ का विभिन्न ठाउँबाट नेपालीहरु चिनी, मरमसला,लत्ताकपडा र उपभोग्य वस्तु खरिद गर्न जाने गर्दथे । नेपालीकै कारण जोगबनीमा दैनिक करिब रु. ५ करोडसम्मको कारोबार हुने गरेको थियो ।
सीमामा खटिएका सुरक्षाकर्मीका अनुसार दैनिक करिब ४० जना नेपाली जोगबनी नाका भएर नेपाल प्रवेश गर्ने गरेका छन । तर, उनीहरुले नेपाली भएको अनिवार्य प्रमाण पेस गर्नैपर्छ । नागरिकता अथवा मतदाता परिचय पत्र हेरेर सबै विवरण अध्यावधिक गरेर मात्र सुरक्षाकर्मीले उनीहरुलाई विराटनगरको डिएभी स्कुलमा बनाइएको होल्डिङ सेन्टरतर्फ पठाई दिन्छन । त्यहाँ होम क्वारेन्टिनमा बस्ने अथवा सामुदायिक क्वारेन्टाइनमा जाने भन्ने तय हुन्छ । वारिपट्टी जोगबनी रानी–विराटनगर चल्ने बस लाम लगाएर राखिएको छ । सीमाको बजार पूर्णत ठप्प देखिन्छ । पारि पनि पसल खुलेका छन तर ग्राहक भने छैनन् ।