वराहक्षेत्र / खानेपानीको अभावकै बीच परिपूर्ति गर्दै आएका सप्तकोशीको किनारमा रहेका वराहक्षेत्र नगरपालिका १ र २ का वासिन्दालाई ३० वर्षसम्मका लागि शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले काम शुरु भइरहेको छ ।
१ नम्बर प्रदेश सरकारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन नं. ३ इटहरीमार्फत २ करोड १४ लाखको लगानीमा साढे ४ लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिरहेको छ । ०७६ माघ ३ मा टेण्डर भई निर्माणको काम शुरु भइरहेको डिभिजन प्रमुख इञ्जिनियर प्रमोद दत्तले जानकारी दिए ।
‘२ वर्षभित्र सम्पन्न गर्ने गरी ओभरहेड ट्याङ्क निर्माण भइरहेको छ, इञ्जिनियर दत्तले भने, ‘प्रदेश १ सरकारको क्रमागत योजनामार्फत् काम भइरहेको हो ।’
हाल २ हजार १ सय घरधुरीले पानीको सहज माग गरिरहेकामा १ हजार २ सय घरधुरीमा मात्र पानीको धारा पुर्याउन सकिएको तोरीबारी खानेपानी सरसफाई तथा मूल उपभोक्ता समितिका अध्यक्ष डम्बरप्रसाद सिग्देलले बताए । यो ट्याङ्की निर्माण भएपछि ५ हजार घरधुरीलाई पानी पर्याप्त हुने सिग्देलको भनाइ छ ।
‘खानेपानीका लागि उपभोक्ता समितिमार्फत् संघीय सरकारलाई बजेट र योजनासहितको प्रस्ताव गरेका थियौं, उपभोक्ता समितिका अध्यक्ष सिग्देलले भने, ‘प्रदेश सरकार स्थापना भएपछि योजना प्रदेश सरकारमार्फत् सुरु भएको हो ।’
पानी ट्याङ्की निर्माण भएपछि पूर्वमा खारखोला, पश्चिममा भण्डारीटार र दक्षिणमा खस्रेसम्मका बस्तीहरु लाभान्वित हुने बताइएको छ । पानीको अभाव भएपछि अघिल्लो कार्यसमितिकै पालामा नयाँ धारा जडान गरी पाउँ भनी ४ सय भन्दा बढी निवेदन परेको छ । उपभोक्ता समितिका अध्यक्ष सिग्देलको कार्यकाल (२०७१ साल भदौ ३० देखि पहिलो र २०७५ भदौदेखि दोस्रो कार्यकाल) मा निवेदन लिएका छैनन् ।
‘योजना निर्माणको प्रक्रिया अगाडि बढाइरहेकाले निवेदन नलिइएको हो, योजना पूरा भएपछि उपभोक्ताका घरमा धारा जडान हुने छ,’ अध्यक्ष सिग्देलले भने, ‘हालको जनसङ्ख्याको वृद्धिदरलाई हेर्दा संरचना बिग्रिएन भने ३० वर्षसम्म चतरामा पानीको अभाव नहुने गरी योजना निर्माण भइरहेको छ ।’
वराहक्षेत्र १ र २ नं. वडामा खानेपानी उपलब्ध गराइरहेको तोरीबारी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिले हाल १ लाख साढे १२ हजार लिटरका दुई ट्याङ्कीमार्फत् १ हजार २ सय धारा जडान गरी खानेपानी वितरण गरिरहेको छ । खानेपानीको माग भने २ हजार १ सय ५० घरधुरीले गरिरहेका छन् ।
शहीदपार्कसँगै खानेपानी ट्याङ्की
३० लाख रुपैयाँ बजेट विनियोजन भएर पनि जीर्ण अवस्थामा रहेको नगरको चतरास्थित निर्माणाधीन शहीद स्मृति शान्ति पार्कमा पानी ट्याङ्की निर्माणको काम भइरहेको छ ।
शान्ति पार्क निर्माणलाई समेत पूरा गर्नुपर्ने स्थानीय सरोकारवाला राजनीतिक दल र जनप्रतिनिधिहरुको सहमतिपछि गुरु योजना निर्माण गरी काम थालिएको राजनीतिक दलका वडा प्रमुख रञ्जित लोहनीले बताए ।
गुरुयोजनाअन्तर्गत साढे ४ लाख लिटर क्षमताको पानी ट्याङ्की, चौकीदार भवन, शौचालय, डिप बोरिङ, शहीद स्तम्भ, शिलालेख, पार्क र गार्डेन, चौताराहरु निर्माण गर्ने र वृक्षरोपण गर्ने सहमति भएको छ ।
शहीद पार्क र ओभरहेड ट्याङ्क धरान–चतरा सडक उत्तरतर्फ रहेको लालबस्ती नजिक पर्ने ब्लकको जग्गामा निर्माण भइरहेको छ । स्थानीयको सहमतिपछि तोरीबारी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको रेखदेख र निगरानीमा काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन नं. ३ इटहरीका डिभिजन प्रमुख इञ्जिनियर प्रमोद दत्तले जानकारी दिए ।