विराटनगर । विराटनगर महानगरपालिकामा दैनिक औसत ढेड सयको संख्यामा कोरोना संक्रमित थपिने गरेका छन । पीसीआर परीक्षणको नजिता ढिलो आउनाले सर्वसाधारण समस्यामा परेका छन ।
स्वाब दिंदा ६ दिनसम्म कुनुपर्ने बाध्यता भएकै बेला समस्या समाधान गर्न भन्दै महानगरकै संयोजनमा उद्योगी–व्यवसायी, सांसद तथा राजनीतिकर्मीले सहयोग गरी कोसी अस्पताललाई पीसीआर र एक्ट्राक्ट मेसिन हस्तान्तरण गरे । ७६ लाख रुपैया संकलन गरी दिएको दुईवटा मेसिनको अस्पतालले सदुपयोग नै गर्न सकेको छैन । मेसिनको क्षमता अनुसार संचालन नहुँदा पीसीआर परीक्षण गराउने सर्वसाधारणलाई झन् सास्ती भएको छ । कोसी अस्पतालले दुबै मेसिनलाई पूर्ण क्षमतामा संचालन गर्न सकेको छैन ।
दाता मध्येका एक उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे भन्छन्, ‘सर्वसाधारणको रिर्पोट आउन नै पाँचदेखि छ दिन लागेर हैरानी भएपछि हामीले विराटनगरका मेयर भीम पराजुलीकै सक्रियतामा सबैले मिलेर ठूलो रकम जुटाएर मेसिन खरिद गरेर हस्तान्तरण गर्यौं तर अस्पताल प्रशासनले संचालन गर्नै सकेन ।’ मेसिन खरिद गर्न सहयोग गरेका प्रदेश १ कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले पनि दिएको प्राप्त साधनको सही सदुपयोग हुन नसक्नु दुःखद भएको बताए ।
कोरोना संक्रमण देखिएपछि घरमै होम आईसोलेसनमा रहेका विराटनगरका चिकित्सक नारायण कुमारले स्वाब दिएर पनि रिर्पोट आउन तीन दिनसम्म कुर्नु परेको बताए । उनले भने, ‘बिरामीले छिट्टै रिर्पोट आओस भन्ने चाहन्छन तर ढिलाई हुँदा उसले अरुलाई पनि संक्रमण सार्ने खतरा रहन्छ ।’ अहिले प्रदेशका अन्य प्रयोगशालामा समेत रिर्पोट आउन ढिला हुने गरेको सर्वसाधारणले गुनासो गर्दै आएका छन ।
प्रदेश सरकारको प्रदेश प्रयोगशाला, कोशी अस्पताल, विराट मेडिकल कलेज, न्युरो अस्पताल, नोवेल मेडिकल कलेज, धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल र सुरुङ्गामा एकको लागि एक अभियानको प्रयोगशालाले नियमित रुपमा पीसीआर परीक्षण गर्दै आएका छन ।
कोसी अस्पतालका मेसु डा. चुमनलाल दास स्वाब संकलन भई आउने नमूना अधिक हुने गरेकोले तुरुन्त रिर्पोट दिन नसकिएको दाबी गर्छन । उनले भने, ‘अधिक चापकको कारण पनि हामीलाई समस्या भएको हो, स्थानीय पालिकाहरुबाट धेरै नै परीक्षण गरिदिनु पर्यो भन्दै आग्रह गर्ने गर्दछन ।’ संक्रमण कम भएको बेला सात आठ जनाको एकै ठाउँमा राखेर पुल विधिबाट परीक्षण हुने गरेकोमा अहिले हरेक व्यक्तिको अलग अलग गर्नु परेको दासले दाबी गरे ।
कोशी अस्पतालमा अहिले दुई वटा मेसिन संचालनमा रहेको छ । महानगरपालिकाले दिएको स्वचालित मेसिनको खर्च भने अधिक भएको कारण खर्च धान्नै कठिन भएको मेसु डा. दासको भनाइ छ । ‘सरकारले किट नदिएको र अस्पताल आफैंले खरिद गर्न समस्या भएको छ,”दासले भने,“२० लाख खर्च भईसक्यो, प्रतिगोटा किटको मूल्य रु. ७ सय पर्छ ।” प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख जयवेन्द्र यादवले अहिले किटको अभाव नरहेको बताए । विराटनगरमा मात्र संक्रमितको संख्या ४ हजार भन्दा अधिक भएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सर्वसाधारणको रिर्पोट आउन ढिला नहोस भनेर नै सहयोग गरिएको सुनाए ।