विराटचोक । देशमै पहिलो पटक अत्याधुनिक सुविधा रहेको शौचालयको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् ।
शौचालय उद्घाटनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राईले सबै एकजुट भएर काम गर्दा असम्भव केही नहुँने बताए । उनले भने, ‘प्रदेश सरकारले पनि यो नगरलाई सुन्दर बनाउन लागिपरेको छ, विराटनगर– घिनाघाट सडकलाई ४ लेनको बनाइएको छ । पूर्वी पहाडी जिल्लाको केन्द्रबिन्दुको रुपमा यस नगरलाई विकास गर्न प्रदेश सरकार लागि परेको छ ।’ विराटनगर जोड्ने ४ लेनको बाटो प्रदेशकै गौरवको योजना अन्तर्गत राखेर निर्माण गरिएको उनले बताए । नगरपालिकाले ईलाइब्रेरी सहितका ८ वटा अत्याधुनिक सुविधा सहितको शौचालय बनाउन सके नगरको गौरव झन् बढ्ने हुनाले सबैको साथ र सहयोग जुटाउन उनले सुझाव दिए । सिर्जनशील सोच अन्य पालिकाले पनि आत्मसात गरी सोचलाई कार्यान्वयन गराउनुपर्ने उनको भनाइ छ । कोभिडको बहाना नगरी काम गर्दा यसरी ठूला योजना बन्दा रहेछन् भन्ने बुझेर बहानाबाजी गरेर हात बाँधेर बस्न नहुने सन्देश पनि यसले दिएको उनले बताए ।
कार्यक्रमका विशेष अतिथि प्रदेश सांसद राजकुमार ओझाले सबै मिलेर काम गर्नाले विकास निर्माणका काम र अन्य विभिन्न काम गर्न सहज भएको बताए । बृहत् विराट क्षेत्रभित्र सुन्दरहरैंचा परेकाले यहाँ विकास निर्माणका काम धेरै भइरहेको उनको भनाइ थियो ।
सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले सपना देखे पनि जब धेरै मानिसलाई सहभागी गराई अघि बढिन्छ तब मात्र सपनाले साकार रुप धारण गर्ने बताए ।
नगरमा यस्ता अत्याधुनिक मापदण्डका ८ वटा सार्वजनिक शौचालय बनाउने तयारी भएको बताउँदै केही स्थानमा जग्गाको अभावमा भवन बन्न नसकेको र जग्गा पाउना साथ भवन बनाइने उनले बताए । अब नगरको पश्चिम क्षेत्रमा रहेको बलियामा शौचालय बनाउनुपर्ने र सबैतिरको भूगोल समेटिने उनको भनाइ छ । भौतिक पूर्वाधार मन्त्रालयको कार्यभार पनि मुख्यमन्त्रीसँगै रहेकाले रकम विनियोजन हुनेमा नगरवासी आशावादी रहेको उनले बताए ।
८ घर सुकुम्बासीलाई शौचालयको माथिल्लो तलामा बस्ने व्यवस्था गरिनुले सुकुम्बासीको समस्या समाधानमा पनि कार्यक्रमले सहयोग पुग्ने उनले बताए । भौतिक पूर्वाधारको लागि नगरसँग बजेट नभएको र प्रदेश सरकारले पनि सुन्दरहरैंचा लाई खासै नहेरेको उनले बताए ।
शौचालय निर्माण महाअभियानका संयोजक भोलेश्वर दुलालले सार्वजनिक शौचालय निर्माण महाअभियानका लागि मेला लगाइएको र मेलामा १ करोड रुपैयाँ नाफा भएपछि थप उत्साह मिलेको बताए । ईलाइब्रेरी सहितको भवन बनाउन डीपीआर तयार पारी नगरपालिकाको पहिलो बोर्ड बैठकमा प्रस्तुत गरेपछि महाअभियानका लागि नगरले ३५ प्रतिशत रकम छुट्याउने बताएपछि भवन निर्माणमा अघि बढिएको उनको भनाइ छ ।
सलकपुर र हरैंचामा निःशुल्क जग्गा प्राप्त भएको तथा खोर्साने र विराटचोकमा कम मूल्यमा जग्गा खरीद गरी काम शुरु गरिएको उनले प्रष्ट्याए । अन्य क्षेत्रमा जग्गाको अभाव रहेको उनले बताए । हालसम्म १ करोड २ लाख रुपैयाँ नगरपालिकाबाट प्राप्त भएको र १ करोड २७ लाख १६ हजार ४ सय ५२ रुपैयाँ संकलन गरिएको उनले बताए । थप १७ लाख रुपैयाँ संकलन भइसकेको उनले बताए । हालसम्म ३ करोड २७ लाख खर्च भइसकेको र खोर्साने र हरैँचामा बनेका सार्वजनिक शौचालयमा ढलानको काम भइरहेको उनले जानकारी दिए । कार्यक्रममा खोर्सानेमा बनिरहेको शौचालयको निर्माणको लागि ११ लाख रुपैयाँ सहयोग गर्ने आशिष मास्केलाई सम्मान पनि गरिएको थियो ।