इलाम । इलाम नगरपालिकाले ऐतिहासिकता झल्काउँदै पर्यटकीय आकर्षण गर्नेे उद्देश्यले इलाम सदरमुकाममा रहेको सय वर्षभन्दा पुरानो राणकालीन दरवारलाई अरनिको संग्रालय बनाउन काम धमाधम अघि बढाएको छ । सय वर्षे पुरानो भवनलाई सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेसँगै संग्रहालय निर्माण गर्न योजनाका साथ काम थालिएको हो ।
यस अघि यहाँ जिल्ला प्रशासन कार्यालय रहेको थियो । प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि दरबारमा संग्रहालय बनाउनको लागि काम थालिएको छ । संग्रालयमा लोप हुने अवस्थामा पुगेका विभिन्न सामग्री, पुराना उपकरणहरू, बजागाजा, भिविन्न जातिका भेषभुषा, भाडा वर्तन लगायतका सामग्री राखिने छ । अहिले केहि सामान राखिएका छन त केहि सामान आउने क्रममा रहेका छन ।
संग्रहालयमा पूर्खाहरुले प्रयोग गरेका ढिकी, जाँतो, ठेकी, चर्खा, गरियो, पेचा, कोलजस्ता घरायसी सामग्री र पञ्चेबाजाहरुलाई संग्रहालयमा राख्न थालिएको छ । जिल्लामा बसोबास गर्ने राई, लिम्बू, शेर्पा, लाप्चा, सुनुवार लगायत विभिन्न जातजातिले प्रयोग गर्ने सांस्कृतिक सामग्री, भेषभुषालाई पनि संग्रहित गर्ने नगर साहित्य प्रतिस्ठान इलामका सचिव दिवाकर भण्डारीले जानकारी दिए । भण्डारीले भने, ‘भवनमा २२ वटा कोठा छन्, कोठामा सबै जातिय संस्कृतिका सामाग्री राख्ने तयारी भईरहेको छ, लोपोन्मूख सामग्रीहरु ल्याएर राख्ने काम भइरहेको छ, संग्रहालयको प्राङ्गणमा पञ्चेबाजाका स्टाच्यु राख्ने काम पनि भएको छ ।’ संग्रहालय प्रवेश छेउमा एउटा भवन बनाएर भाडामा लगाएको र दशै पछि देखि टिकट काटेर मात्र हेर्ने गरिको तयारी गरिरहेको भण्डारीले बताए ।
संग्रहालयमा आउने पर्यटकले इलाम नगरपालिकाका पर्यटकिय स्थलको पनि जानकारी पाउने छन । जानकारी अनुसार जुन ठाउँमा जान मनलाग्छ त्यहा पर्यटक जान सक्ने छन । संग्रहालयको बाहिर इलामका दशै स्थानीय तहमा उत्पादन हुने बस्तु पनि राख्ने उनले बताए ।
राणा प्रधानमन्त्री जंगबहादुर राणाको पालामा इलाममा बडाहाकिम भएर आएका उनका ज्वाइ गजराजसिंह थापाको कार्यकालमा दरबार बनेको हो । गजराजसिङ थापा १९१९ सालदेखि १९४२ सम्म इलामको प्रशासन सम्हालेका थिए । दरवार १९२० को दशकमा बनेको इतिहासकार बताउँछन ।