धरान । स्वास्थ्य क्षेत्रका माफिया विरुद्ध सत्याग्रहमा बसेका डा. गोविन्द केसीको माग प्रति समर्थन जनाउँदै आन्दोलनमा रहेका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
शुक्रबार देखि ओपिडि सेवा बहिष्कार गर्ने घोषणा गरेका प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीले आन्दोलनको कार्यक्रम फिर्ता लिदै काममा फर्किएका छन् । डा. केसीको मागलाई सम्बोधन गर्न विहिबार देखि सरकार पक्षले वार्ता जारी राखेकाले आन्दोलन फिर्ता लिए पनि कालो पट्टी बाँधेर काम गर्ने जनाएको छ ।
न्याम्स कोठमाण्डौं, त्रिवि शिक्षण अस्पताल महाराजगंजका जुनियर रेसिडेन्ट सहित प्रतिष्ठानका रेसिडेन्टहरुले संयुक्त विज्ञप्ती जारी गर्दै डा. केसीको माग पुरा नभए सम्म कालोपट्टी बाँधेर काम गर्ने गरि नियमित काममा फर्किएका हुन् ।
कोभिडको बिषम परिस्थितिमा विरामीको सेवा गर्नु नै धर्म र नैतिक जिम्मेवारी भएकोले डा.केसीले अनसन गरुञ्जेल आवासिय चिकित्सकहरुले कालोपट्टी बाँधेर सेवामा संलग्न हुने सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले बताए । प्रतिष्ठानमा शुक्रबार देखि जुनियर रेसिडेन्टहरुले पनि रिले अनसन बस्ने घोषणा गरेका थिए, तर तत्कालको लागि यो कार्यक्रम पनि रोकिएको छ ।
।