धनकुटा र/ धनकुटाको पाख्रीवास नगरपालिकामा करेन्ट लागेर आज एक जनाको मृत्यू भएको छ ।
रुखमा छोएको विधुतको तारबाट करेन्ट लागेर पाख्रीवास नगरपालिका–५ दियालेका १७ वर्षीय अनिल थापाको मृत्यू भएको हो । स्थानीय कमला तामाङको बारीमा रहेको टाँकीको रुखमा घाँस काट्ने क्रममा धनकुटा–भोजपुर जाने ३३ केभी विधुत् प्रसारण लाइनमा उक्त रुख टाँटिएको कारण थापालाई करेन्ट लागेको थियो । करेन्ट लागेर थापाको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए ।
करेन्ट लागेर मृत्यू भएका थापाको शव तारमा नै अड्किएको थियो । उक्त शवलाई तारबाट निकालेर पोष्टमार्टमको लागि धनकुटा अस्पताल ल्याउने तयारी भईरहेको एसपी अधिकारीले बताए । विधुत प्राधिकरणको लापरवाहीका कारण करिब एकहप्ताको अन्तरमा धनकुटामा दुई जनाले ज्यान गुमाई सकेका छन् । चौबिसे गाउँपालिका–३ मा दाउरा खोज्ने जंगल गएका एक जनाको विधुतको पोल ढलेर तार लत्रिएका कारण करेन्ट लागेर ज्यान गएको थियो ।