इटहरी । सुनसरीको इटहरीमा दैनिक कोरोना संक्रमण फैलनु र मानवीय क्षति बढदै जानुमा जिल्ला प्रसाशन कार्यालय र उद्योग वाणिज्य संघका पदाधिकारीहरू जिम्मेवार रहनुपर्ने इटहरी उपमहानगरकी उपमेयर लक्षमी गौतमले आरोप लगाएकी छिन् ।
इटहरी अस्पतालका इमरजेन्सी शाखाका प्रमुख रामकुमार धमलाले संक्रमण बढदै जानुले इटहरी लगायतका शहरमा खतरा बढेको भन्दै सामाजिक सञ्जालमा लेखेको स्टाटसमा उपमेयर गौतमले आरोप लगाउँदै प्रतिक्रिया दिएकी हुन् ।
कोरोना महामारीले देश नै आक्रान्त बनिरहेको बेला प्रदेश एकको मुख्य ब्यापारीक केन्द्र इटहरीमा पनि दैनिक संक्रमण बढनुमा जिल्ला प्रसाशनको कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेल र उद्योग वाणिज्य संघ इटहरीका पदाधिकारीहरू स्वयम जिम्मेवार रहनुपर्ने उपमेयर गौतमले आरोप लगाएकी हुन् ।
संघिय सरकार अन्तरगत रहेको सिडिओ कार्यालयले स्थानीय सरकारको कुरा नसुनी एक्लौटी निर्णय गरिदिए पछि सोहि निर्णयमा उद्योग वाणिज्य संघको कार्यालय इटहरीका पदाधिकारीहरूले पनि ‘हो मा हो’ मिलाइदिनाले शहर कोरोनाको पकडमा पर्नुका साथै मानविय क्षति समेत भएको उपमेयर गौतमको आरोप छ । उनका अनुसार इटहरीमा मात्र नभइ जिल्लामा नै संक्रमणको दर संगै मानवीय क्षती बढनुमा स्वयम प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेल र उद्योग वाणिज्य संघका पदाधिकारीहरूले जिम्मा लिनुपर्ने बताईन् ।
नजिकिएको चाडपर्वलाइ मध्यनजर गर्दै उपमेयर गौतम स्वयमले केहि दिन अघि बजार तथा ब्यवसायहरू बन्द नगर्ने अडान सहित ठुला सटरमा ब्यवसाय गर्ने ब्यापारीहरू प्रत्यक्ष मार्कामा परिरहेको गुनासो सहित फुटपाथमा लाग्ने बजारलाइ कडा मापदण्ड बनाएर लागु गर्न सिडिओ पोख्रेल समक्ष प्रस्ताव पेश गरिएका थिए । प्रस्ताव अनुसार उपमेयर गौतमकै संयोजकत्वमा बजार खोल्ने मापदण्ड बनाउन एक कार्यदल गठन गरिएको थियो । कार्यदलमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल सहितको पदाधिकारीहरू पनि रहेका थिए । उपमेयरले मिलेर मापदण्ड बनाउन आग्रह गरिरहदा उद्योग वाणिज्य संघका पदाधिकारीहरूले अस्विकार गर्दै आफ्नै ढंगले सुरक्षा सतरकता नअपनाइ र मापदण्ड नै नबनाइ बजार सुचारू गरिएको उनको भनाई छ ।
बजार खोल्ने बारे गठित कार्यदलकै संयोजकलाइ थाहा नै नदिइ उद्योग वाणिज्य संघ इटहरीका पदाधिकारीहरूले सुटुक्क सिडिओ पोख्रेललाइ प्रतिवेदन बुझाउदै इटहरी बजार खुल्ला गरिएको र अहिले झनै खतरा बढदै गएको उनको दाबी छ । उनले भनिन्, ‘बजार खोलौ तर उचित सुरक्षा सतरकता अपनाएर र मापदण्ड बनाएर मात्रै खोलौ भन्ने मेरो प्रस्ताव थियो, सिडिओकै अगाडी मिटिङमा पास भयो तर बजार खोल्ने बेला सम्ममा फेल भएछ ।’
सुनसरीका प्रमुख जिल्ला अधिकारी पोख्रेलले जिल्लाका सबै शहरहरूमा उचित मापदण्ड बनाएरै ब्यापार ब्यवसाय सुचारू गरिएको दाबि गरे । उनले हालै मात्र प्रसाशनको अगुवाइमा बिभिन्न शहरहरूमा गरिएको अनुगमनमा पनि ब्यवसायीहरूले मापदण्डको राम्रो संग पालना गरेर ब्यापार गरेको देखिएको प्रस्ट पारे ।