धनकुटा / धनकुटाको विभिन्न स्थानहरुमा अविरल वर्षाका कारण घर भत्किदाँ ५७ लाख बराबरको क्षति भएको छ ।
निरन्तरको वर्षाका कारण आज विहान महालक्ष्मी नगरपालिका–५ रामबजारका विजय शाहको ढुंगा माटोले बनेको टिनको छानो भएको दुई तले घर भत्किदाँ ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए ।
वर्षात्ले घर भत्किदाँ पूर्णरुपमा क्षति भएको छ । घर भित्र रहेको लत्ताकपडा, गरगहना, काठपात, अन्नपात पूर्णरुपमा नष्ट भएको प्रहरीले बताएको छ । तर चौपाया र मानवीय क्षति भने हुन पाएन ।
त्यस्तै आज विहान नै परेको वर्षात्ले धनकुटा नगरपालिका–५ विहिवारे हटिया नजिकका चानबहादुर लिम्बूको घर भत्किदाँ १५ लाख बराबरको क्षति भएको छ । ढुंगामाटो र ईटाले बनेको टिनको छानो भएको दुई तले कच्ची घर बर्षात्ले भत्काउँदा पूर्णरुपमा क्षति भएको छ । घर भत्किदाँ मानवीय र चौपायामा क्षति नभएपनि घर भित्र रहेको लत्ताकपडा, गरगहना, काठपात, अन्नपात क्षति भएको प्रहरीले बताएको छ ।
यता धनकुटा नगरपालिका–५ कै छुङ्देन टोलका लिलाबहादुर राईको दुई वटा घर भत्किदाँ ३५ लाख बराबरको क्षति भएको छ । वर्षाले राईको ढुंगामाटोले बनेको टिनको छानो भएको एकतले घर र ढुंगामाटोले नै बनेको दुई तलेघरमा पूर्णरुपमा क्षति भएको छ ।
घर भत्किदाँ लत्ताकपडा, खाद्यन्न, काठपात, गरगहना र १० वटा कुखुरा पुरिएको एसपी अधिकारीले बताए ।
त्यस्तै अविरल बर्षाका कारण कोशी लोकमार्ग अन्तरगत साँगुरीगढी गाउँपालिका–६ घण्टेमा माथिबाट आएको पहिरोले सडक पुरिदाँ चार घण्टा अवरोध भएको छ ।
जेसिबीको सहयोगमा अहिले पहिरो पन्छाएर बाटो सुचारु गरिएको प्रहरीले बताएको छ । दुई अघि मात्र पहिरोले घर भत्किदाँ महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका धनबहादुर लिम्बूको ७ महिनाको छोरीको घरले पुरिएर ज्यान गएको थियो ।