इटहरी । कोरोनाको त्रास संगै बिहीबार बिहानै देखि परेको अविरल वर्षाका कारण बिश्वकर्मा पुजा प्रभावित बनेको छ । केहि दिन यता पूर्वि तराइका पहाडी जिल्लाहरू लगायत प्रदेश एकका विभिन्न जिल्लाहरूमा निरन्तर भारी वर्षा भइरहेको छ । धार्मिक परम्परा अनुसार आज अशोज १ गते अर्थात आश्विन सङ्क्रान्तिका दिन कालीगढले विश्वकर्माको पूजाआजा गर्ने गर्छन । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गर्छन भने मन्दिरहरुमा भिड लाग्ने गरेको छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर पुजा गर्ने चलन छ। भारी वर्षाका कारण अघिल्लो बर्षहरु झै मन्दिरमा भिडभाड देखिन्दैन भने कलकारखानाहरु मा पनि भब्यता देखिन्दैन । धरानमा रहेको बिश्वकर्मा मन्दिरमा बिहानै देखि सवारी साधन पुजा गर्नेहरूको सामान्य भिड लागेको छ । धरान इटहरी तरहरा लगायतका स्थानहरूबाट आ आफ्नो सवारी साधन लिएर मन्दिर सम्म पुग्दै पुजा गर्नेहरूको लाइन लागेको हो । सरकारले सबै प्रकारका निजि तथा सार्वजनिक सवारी साधनहरू आज अशोज १ गतेबाट सञ्चालनमा ल्याएसंगै पहिलो दिन बिश्वकर्मा पुजा परेको हुदा मन्दिरमा सवारी साधन पुजा गर्नेहरूको भिड लागेको हो । बिश्वकर्मा पुजा मनाइरहदा भारी वर्षाका कारण केहि मात्रामा प्रभावित बनेको पाइएको छ ।