विराटनगर । कोरोना संक्रमितलाई आईसोलेसनमा भर्ना गराउने विषयमा तारतम्य नमिल्दा संक्रमितहरुले भने सास्ती खेप्नु परेको छ । आईतबार राति मोरङको ग्रामथानका एक जना पुरुषले अस्पताल भर्ना हुन निक्कै हैरानी खेप्नु प¥यो ।
रिर्पोट पोजेटिभ आएपछि कोशी कोभिड १९ उपचार केन्द्र लग्नु पर्नेमा उनलाई कोशी अस्पतालको इमरेन्जी वार्डमा ल्याएर छाडेपछि करिब ३ घन्टा अलपत्र बने ।
“पुलिस घरमा गएर एम्बुलेन्समा चढ्न भन्दै गए । चालकले एकातिर लग्नु पर्ने अर्को अस्पताल लगेर छाडिदिए । कहाँ जाने के गर्ने निक्कै बिलखबन्दमा परें,” उनले भने,“कोभिड अस्पतालतिर लग्नु पर्ने अर्कैतिर ल्याएर छाडि दिएछन् । पछि फेरि अर्को अस्पतालतिर लगे । अहिले भुइँमा म्याट ओच्छाएर राखिएको छ ।”
केही दिनदेखि ज्वरो र ख्यास ख्यास खोकीको समस्या देखिएपछि उनी कोशी अस्पताल विराटनगरको फिभर क्लिनिकमा जाँच गराउन आएका थिए । चिकित्सकलाई देखाए । चिकित्सकले ज्वरोको औषधि दिए अनि घर पठाई दिए । “तर, ज्वरो विसेक भएन सुख्खा खोकी पनि उस्तै रह्यो,” उनले भने, “चित्त बुझेन फेरि कोसी अस्पताल आएँ अनि रु. ५ हजार तिरेर स्वाब दिएँ । रिर्पोट पोजेटिभ आएछ ।”
आईतबार साँझदेखि करिब ११ बजेसम्म कोशी अस्पतालको इमरजेन्सी वार्ड अगाडिको पेटीमा भोकै प्यासै रहनु परेको र निकायहरुबीच समन्वय नहुँदा आफूले अनाहकमा दुःख पाएको उनले बताए । संक्रमित पुरुषमा स्थानीय रुपमै संक्रमण भएको देखिएको छ । उनको ट्राभल हिस्ट्री छैन ।
उनमा संक्रमण देखिएको विषयमा ग्रामथान गाउँपालिकाका पदाधिकारीसमेत साँझसम्म बेखबर थिए । संक्रमित पुरुषले आफू संक्रमणको लक्ष्यण आउनु पूर्व गाउँकै क्लिनिकमा औषधि खरिद गर्न गएको र संचालककी छोरीमा संक्रमणमा देखिएको पुष्टि भएकोले उनैबाट आफूमा सरेको हुन सक्ने बताए । क्लिनिकका संचालककी छोरी विराट अस्पताल (विराट नर्सिङ होम) मा कार्यरत हुन ।
ती नर्समा अस्पतालका वरिष्ठ चिकित्सकसंगै कोरोना संक्रमण पुष्टि भएको थियो । उनी आइसोलेसनमा छिन् । वरिष्ठ चिकित्सक ज्ञानेन्द्रमान सिंह कार्कीको काठमाडौमा उपचार भईरहेको छ ।
ग्रामथानमा पुरुषमा संक्रमण देखिएपछि गाउँमा त्रासको वातावरण देखिएको छ । ग्रामथान १ झोराहाट बजार बिहानैदेखि सुनसान छ । समुदाय स्तरमा कोरोना पुगेको आशंकामा मानिसहरुको चहलपहल र आउजाउ छैन ।
स्थानीय समाजसेवी टिका खतिवडा भन्छन्,“गाउँमा कसरी संक्रमण आयो भन्नेमा हामी पनि चिन्ताग्रस्त छौं । संक्रमणको स्रोत पहिचान गर्ने र कन्ट्याक्ट ट्रेसिङ गरी स्थानीयको स्वाब संकलन तथा परीक्षण गर्न प्रदेश सरकार समक्ष माग गरिरहेका छौं ।”
उनले सावधानी र सतर्कता अपनाउन अब हेलचेक्र्याईं गर्न नहुने बताए । ग्रामथान विराटनगर सीमाको पालिका हो ।
गाउँमा केही दिनअघि भएको छिमेकीको पूजामा समेत पुरुष सहभागी थिए । त्यहाँ अरु धेरै मानिसहरु पनि थिए । यसबाहेक जग्गाको कारोबार गर्ने भएकोले अर्का एक साथीसंग उनी मोटरसाइकलमा चढेर घडेरी देखाउन टोलटोल पुगेका थिए । संक्रमित पुरुष भन्छन्,“परीक्षणको दायरा बढाएर संक्रमण भए नभएकाहरु पत्ता लगाउनु पर्ने देखिएको छ ।”
प्रदेश १ का आईसोलेसन केन्द्रहरुमा अहिले बिरामीको चाप बढेसंगै भरिएका छन् । कोशी कोभिड १९ उपचार केन्द्र, गोठगाउँ र धरानमा पनि बिरामीको चाप बढ्न थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिष्द कार्यालयका अनुसार आइतबारसम्म प्रदेश १ मा १०७१ जनामा कोरोना संक्रमति फेला परेका छन् । ८२१ जना डिस्चार्ज भएका छन् ।