धनकुटा / देशको अवस्था र कृषिमा संम्भावना समेटेर कृषि अभियान्ता तथा लेखक जीवन प्रसाद राईको १९ औं कृति समृद्धिका आधार पुस्तक सार्वजनिक गरेका छन् ।
नेपालका ७७ जिल्लाका कुना कुनामा पुगेर कृषिबाट समृद्धि पस्कन सकिने विषयवस्तु राईको पुस्तकमा समेटिएको छ । पुस्तकमा ठाँउ अनुसारको उत्पादनलाई जोड दिएको छ । उक्त पुस्तक ७ वर्ष ९ महिना १९ दिन लगाई देश घुमेर तयार पारिएको कृषिसँग सम्बन्धित विषयवस्तु समेटिएको राईले बताए । २०६७ साल माघ महिनाबाट सुरु गरिएको यात्रा २०७५ सालमा ७७ जिल्लाका २ सय ६६ वटा नगरपालिका र ३ सय ७९ वटा गाँउपालिका पुगेर अन्त्य भएको राईले बताए । पुस्तकमा सात वटै प्रदेशको बारेमा कुन प्रदेश भन्दा कुन प्रदेश के कस्ता कृषि, पशु, पंक्षी, माछा, वनस्पति, जलस्रोत र भूगोलमा अगाडी र संम्भावना बढी छन् भन्ने विषयवस्तुहरुलाई गहन अध्ययन र विश्लेषण गरिएको छ ।
उक्त पुस्तकको वरिष्ठ साहित्यकार झमक घिमिरेले एक कार्यक्रमका बीच लोकार्पण गरेकी छिन् । पुस्तकको लोकार्पण गर्दै घिमिरेले कृषिलाई जीवन शैलीमा रुपान्तरण गर्न पुस्तकले प्रेरणा दिएको बताईन् । कृषिले समृद्धिसँगै पर्यटन विकासमा मद्दत पुग्ने भएकोले अबको गन्तव्य नै कृषि हुने आफ्नो ठम्याई रहेको साहित्यकार घिमिरेले खुट्टाले लेखेर लिखित प्रतिक्रिया दिईन् । अहिलेको संरचना अनुसार सातै प्रदेशलाई छुट्टाछुट्टै भागमा समेटेर तयार पारिएको उक्त पुस्तकले कृषि क्रान्तिलाई सफल बनाउन एउटा मार्गनिर्देशनको भुमिका निर्वाह गर्ने झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुराँगाईले बताए ।
सांग्रिला पुस्तक प्रा.लि. काठमाडौंले प्रकाशन गरेको उक्त पुस्तकको सुरुवातमा नै दुई हजार प्रति बिक्री भएको जनाएको छ । पुस्तक लोकार्पण कार्यक्रममा प्राध्यापक तथा साहित्यकार जनार्दन घिमिरे, मुकुन्द प्रयास र रमेशचन्द्र अधिकारीले समिक्षा गरेका थिए । लेखक राईको यस अघि कृषिबाट करोडपति लगायतका १८ औं संस्करणसम्मको विभिन्न पुस्तकहरु सार्वजनिक भईसकेका छन् । राईले समृद्धिका आधारहरु पुस्तक तयार पर्ने क्रममा देशभरका ७७ वटै जिल्लाका २७ हजार भन्दा बढी स्थानीय व्यक्ति तथा कृषकहरुसँग प्रत्यक्ष भेटघाट र भलाकुसारी गरेका थिए ।