धरान/ धरान खेलकुद मञ्चले आयोजना गरेको तेस्रो धरान स्पोर्टस् अवार्डमा पत्रकारिता र खेलकुदतर्फ कोशीपत्रका कार्यकारी सम्पादक गोविन्द बस्नेत र कराते खेलाडी निगम तिम्सिना सम्मान तथा अवार्डबाट पुरस्कृत भएका छन्।
शुक्रबार धरानमा आयोजित कार्यक्रममा खेलकुद क्षेत्रमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक तथा अग्रजलाई नगदसहित अवार्ड तथा सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा कोशीपत्रका कार्यकारी सम्पादक गोविन्द बस्नेतलाई खेलकुद पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार सम्मान प्रदान गरिएको छ। उनले नगद १० हजार रुपैयाँसहित सम्मान प्राप्त गरे।
त्यस्तै, पब्लिक च्वाइस अवार्डमा करातेका निगम तिम्सिना प्रथम भएका छन्। उनले अवार्डसँगै नगद २५ हजार रुपैयाँ प्राप्त गरे। पब्लिक च्वाइसमा टेबल टेनिसका श्रेय सुवेदी दोस्रो तथा करातेका साहिल राई तेस्रो भए।
मञ्चले उत्कृष्ट प्रशिक्षकको अवार्ड कराते प्रशिक्षक किरण लामालाई प्रदान गरेको छ। उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे। वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ करातेका प्रमोद राई र महिलातर्फ फुटबलकी प्रतीक्षा राई घोषित भए। दुवैले नगद २५ हजार रुपैयाँसहित अवार्ड प्राप्त गरे।
पूर्व राष्ट्रिय फुटबल खेलाडी इन्दु रसाइलीलाई ‘लेजेन्ड्री’ सम्मान प्रदान गरिएको छ। उनले नगद ११ हजार रुपैयाँसहित सम्मान प्राप्त गरे।
सम्मान तथा अवार्ड धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले हस्तान्तरण गरेका थिए।
कार्यक्रममा मञ्चका अध्यक्ष किशोर राईले खेलकुद क्षेत्रको महत्वपूर्ण अवार्ड कार्यक्रमका लागि नगर सरकारले बजेट विनियोजन नगरेको गुनासो गरे। कार्यवाहक नगर प्रमुख बेघाले भने आगामी वर्षदेखि उपमहानगरपालिकाले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए।