धरान–१६ स्थित यूएन नवोदय कलेज कोशी प्रदेशमै होटल व्यवस्थापन शिक्षाका लागि परिचित शैक्षिक संस्था मानिन्छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालन गर्दै आएको यस कलेजले शैक्षिक नतिजा, व्यवहारिक सिकाइ, उद्योगसँगको सहकार्य र अन्तर्राष्ट्रिय इन्टर्नसिपका कारण विद्यार्थीमाझ छुट्टै पहिचान बनाएको छ।
पछिल्लो समय सीम्याट प्रवेश परीक्षाको तयारी, होटल व्यवस्थापन अध्ययनको भविष्य, व्यवहारिक शिक्षादेखि अन्तर्राष्ट्रिय रोजगारीसम्मका विषयमा कोशीपत्रका संवाददाता फणीन्द्र तिम्सिनाले यूएन नवोदय कलेजका क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोसँग गरेको कुराकानीको सम्पादित अंशः

धेरै विद्यार्थी र अभिभावकमा यही जिज्ञासा छ । सीम्याट अर्थात् कमन म्यानेजमेन्ट एडमिसन टेस्ट त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने प्रवेश परीक्षा हो । कक्षा १२ उत्तीर्ण गरेपछि बीबीए,बीएचएम ,बीआईएम,बीबीएम,लगायत व्यवस्थापन संकायका सेमेस्टर प्रणालीका कार्यक्रम अध्ययन गर्न चाहने विद्यार्थीले यो परीक्षा अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्छ ।
धेरैले प्लस–टु पास गरेपछि सीधै भर्ना हुन पाइन्छ भन्ने सोच्नुहुन्छ, तर त्यसो होइन । सीम्याट पास नगरी यी कार्यक्रमहरूमा भर्ना हुन पाइँदैन । त्यसैले विद्यार्थीले समयमै फारम भरेर तयारी गर्नु आवश्यक छ। यस वर्ष साउन १९ गतेसम्म आवेदन खुला छ भने साउन २३ गते परीक्षा हुँदैछ। समयमै तयारी गरे सफल हुन कठिन छैन ।
हामीले होटल व्यवस्थापन शिक्षा सञ्चालन गरेको एक दशकभन्दा बढी भइसकेको छ। यो अवधिमा हामीले केवल कक्षाकोठामा पढाउने काम मात्र गरेका छैनौं, विद्यार्थीलाई दक्ष र व्यावसायिक जनशक्ति बनाउने प्रयास गरेका छौं।
हाम्रो कलेजका विद्यार्थीहरूले राष्ट्रिय स्तरमै उत्कृष्ट नतिजा ल्याएका छन्। कोशी प्रदेशबाट ३.९६ जिपिए र ३.९२ जिपिए प्राप्त गर्दै नेपालमै दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीहरू हाम्रै कलेजका हुन्। करुणा राई र स्मारिका श्रेष्ठले प्राप्त गरेको उपलब्धिले हाम्रो शैक्षिक गुणस्तर पुष्टि गर्छ।
हामी विद्यार्थीलाई सिद्धान्तभन्दा व्यवहारिक ज्ञानमा बढी जोड दिन्छौं। त्यसका लागि आफ्नै यूएन केक बरिस्टा एन्ड रेस्ट्रो सञ्चालन गरेका छौं, जहाँ विद्यार्थीले नि:शुल्क बारिस्टा, बेकरी, फुड प्रोडक्सन तथा रेस्टुरेन्ट सञ्चालनसम्बन्धी प्रत्यक्ष अभ्यास गर्ने अवसर पाउँछन्। यसले उनीहरूलाई अध्ययनसँगै व्यावसायिक अनुभव पनि दिलाउँछ।
होटल व्यवस्थापन किताब पढेर मात्र सिकिने विषय होइन। यसमा प्रत्यक्ष अभ्यास अत्यन्त आवश्यक हुन्छ। त्यसैले हामीले विद्यार्थीलाई होटल, क्याफे, रेस्टुरेन्ट, बेकरी लगायतका वास्तविक कार्यस्थलमै अभ्यास गराउँछौं।
विद्यार्थीले आफैं खाना बनाउने, सेवा दिने, ग्राहकसँग व्यवहार गर्ने, कफी बनाउने, बेकरी उत्पादन तयार गर्ने लगायत सम्पूर्ण प्रक्रिया सिक्ने अवसर पाउँछन्। यसले उनीहरूलाई अध्ययन सकिएपछि रोजगार बजारमा सहज रूपमा प्रवेश गर्न सक्षम बनाउँछ।
धरानको आफ्नै पहिचान छ। यहाँ आउने पर्यटकले स्थानीय स्वाद र संस्कृति पनि अनुभव गर्नुपर्छ भन्ने हाम्रो सोच हो। त्यसैले विद्यार्थीलाई स्थानीय परिकारको प्रवर्द्धन गर्न प्रेरित गरिरहेका छौं।
धराने मःमलाई व्यावसायिक रूपमा अझै स्थापित गर्ने प्रयास पनि गरिरहेका छौं। होटल व्यवस्थापन भनेको केवल विदेशी खाना बनाउने विषय मात्र होइन, आफ्नै स्थानीय खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विषय पनि हो।
हो, म केही दिनअघि मात्र हङकङबाट फर्किएको हुँ। हाम्रो कलेजका विद्यार्थीहरू पाँचतारे होटलहरूमा इन्टर्नसिप र रोजगारीमा छन्। उनीहरूलाई प्रत्यक्ष भेट्ने, काम गर्ने वातावरण बुझ्ने र उनीहरूले पाएको अवसरको मूल्याङ्कन गर्ने उद्देश्यले गएको थिएँ।
हामी विद्यार्थीलाई विदेश पठाएर मात्र जिम्मेवारी पूरा भयो भन्ने सोच्दैनौं। उनीहरूले कस्तो वातावरणमा काम गरिरहेका छन्, कुनै समस्या छ कि छैन, उनीहरूको प्रगति कस्तो छ भन्ने कुरा बुझ्न हामी आफैं विभिन्न देश पुग्ने गरेका छौं। हङकङ मात्र होइन, दुबई, थाइल्याण्ड, सिंगापुर लगायतका देशमा पनि हामी नियमित रूपमा पुग्ने गरेका छौं।
विद्यार्थीले अन्तर्राष्ट्रिय होटलमा काम गर्दा विश्वस्तरीय सेवा प्रणाली सिक्ने अवसर पाउँछन्।
उनीहरूको आत्मविश्वास बढ्छ, भाषा सीप सुधार हुन्छ र अध्ययन पूरा भएपछि राम्रो रोजगारीको सम्भावना पनि बढ्छ। कतिपय विद्यार्थी इन्टर्नसिपपछि स्थायी रोजगारीमा समेत पुगेका उदाहरण छन्।
यो विद्यार्थीले राम्रोसँग बुझ्नुपर्ने विषय हो। अहिले कतिपय कलेजले विदेशी विश्वविद्यालयको सम्बन्धन भन्दै डीएचएम वा एडीएचएम सञ्चालन गरिरहेका छन्। सबै कार्यक्रम नराम्रा छन् भन्ने होइन, तर विद्यार्थीले सम्बन्धन, मान्यता र समकक्षताबारे राम्रोसँग बुझ्नुपर्छ।
नेपालको त्रिभुवन विश्वविद्यालयबाट प्राप्त डिग्रीको सरकारी मान्यता स्पष्ट हुन्छ। भविष्यमा सरकारी जागिर, उच्च शिक्षा वा विदेश अध्ययन गर्दा पनि सहज हुन्छ।
विदेशी सम्बन्धन भएका केही संस्थामा विगतमा समस्या आएका उदाहरण पनि छन्। त्यसैले विद्यार्थीले आकर्षक प्रचारभन्दा पनि डिग्रीको विश्वसनीयता, मान्यता र भविष्यलाई ध्यान दिनुपर्छ।
होटल व्यवस्थापन अहिले अत्यन्त सम्भावना भएको क्षेत्र हो। नेपालभित्र मात्र होइन, विदेशमा पनि दक्ष जनशक्तिको ठूलो माग छ। होटल, रिसोर्ट, क्रुज, एयरलाइन्स, क्याफे, फुड उद्योग, पर्यटन व्यवसाय लगायत धेरै क्षेत्रमा अवसर छन्।
यदि विद्यार्थीले अध्ययनसँगै व्यवहारिक सीप पनि हासिल गरे भने रोजगार पाउन गाह्रो हुँदैन। अहिले विश्वभर पर्यटन उद्योग विस्तार भइरहेकाले होटल व्यवस्थापनको भविष्य निकै उज्ज्वल छ।
हामीले यस वर्ष विशेष घोषणा गरेका छौं। कक्षा १२ मा एं ग्रेड प्राप्त गरेर यूएन नवोदय कलेजमा बिएचएम अध्ययन गर्न आउने विद्यार्थीलाई नि:शूल्क ब्रान्डेड ल्यापटप उपलब्ध गराउने निर्णय गरेका छौं। यो उनीहरूको उत्कृष्ट उपलब्धिप्रतिको सम्मान हो।
त्यसबाहेक योग्य विद्यार्थीका लागि छात्रवृत्ति, व्यवहारिक तालिम, उद्योगसँगको सहकार्य तथा अनुभवी शिक्षकबाट अध्यापनको व्यवस्था पनि छ।
सबैभन्दा पहिले सीम्याटलाई सामान्य रूपमा नलिनुहोस्। यो तपाईंको उच्च शिक्षाको प्रवेशद्वार हो। समयमै तयारी गर्नुहोस्, नियमित अभ्यास गर्नुहोस् र आत्मविश्वासका साथ परीक्षा दिनुहोस्।
कलेज छनोट गर्दा केवल प्रचार वा विज्ञापन नहेर्नुहोस्। कलेजको शैक्षिक नतिजा, व्यवहारिक सिकाइ, शिक्षक, पूर्वविद्यार्थीको सफलता र भविष्यको सम्भावना बुझेर निर्णय लिनुहोस्।
यूएन नवोदय कलेजमा बिएचएम का लागि ३३ वटा मात्र सिट उपलब्ध छन्। त्यसैले सीम्याट उत्तीर्ण गरेपछि समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्न म सम्पूर्ण विद्यार्थीलाई आग्रह गर्दछु। सफलताको आधार राम्रो निर्णय र सही तयारीबाट सुरु हुन्छ।
