धरान/ धरान-५ स्थित देउराली खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले खानेपानी आयोजनाको काममा सहभागी नभएको बहानामा उपभोक्ताहरूबाट कुनै पनि प्रकारको चन्दा, शुल्क वा जरिवाना संकलन नगर्न र श्रमदान नगरेकै कारण देखाएर धम्की वा दबाब नदिन सम्बन्धित सबै पक्षसँग जोडदार अनुरोध गरेको छ ।
समितिले बुधबार पत्रकार सम्मेलन गर्दै खानेपानी पाइप लाइन विस्तार तथा मर्मत कार्यका सम्बन्धमा बजारमा फैलाइएका भ्रमपूर्ण सूचना र गैरकानुनी गतिविधिहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विगत झैँ पुरानो पाइप लाइन मर्मत र नयाँ विस्तार कार्यका लागि आम उपभोक्ताहरूलाई श्रमदानमार्फत सहयोग गर्न टोल विकास संस्थाहरूलाई आह्वान मात्र गरिएको समितिले स्पष्ट पारेको छ । तर, कोही उपभोक्ता सदस्य श्रमदानमा अनुपस्थित भएको आधारमा कुनै पनि टोल विकास संस्था वा अन्य निकायलाई रकम वा जरिवाना उठाउने कुनै अख्तियारी नदिइएको कुरा विज्ञप्तिमा उल्लेख छ ।
आयोजना सफल पार्न उपभोक्ताको सहज सहभागिता आवश्यक भए तापनि श्रमदानमा नआएकै भरमा ५०० रुपैयाँ, १,००० रुपैयाँ वा अन्य कुनै पनि रकम जरिवाना स्वरूप उठाउने निर्णय वा निर्देशन समितिबाट कहिल्यै नभएको अध्यक्ष जीवन लिम्बूले बताए । समितिको नाम जोडेर गरिने यस्ता गतिविधिले आम नागरिकमा भ्रम सिर्जना गर्ने भएकाले सबैलाई सत्यतथ्य बुझेर मात्र सहयोग गर्न र यस्ता भ्रमको पछि नलाग्न समितिले सम्पूर्ण उपभोक्ताहरूमा हार्दिक अपिल गरेको छ ।
श्रमदानका नाममा रकम उठाएको आरोप लागेका सामुदायिक टोल विकास संस्थाका अध्यक्ष कवि याक्खाले आरोपको खण्डन गर्ने बताए । उनले पत्रकार सम्मेलन गरेरै जानकारी दिने बताए । सामुदायिक टोल विकास संस्थामा झण्डै ४०० घर धुरी आबद्ध छन् ।
देउराली खानेपानी उपभोक्ता समितिले वडासँग समन्वय गरेर उपभोक्ताको रकम फिर्ता गराउने वा अन्य प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल गर्ने जनाएको छ । उपभोक्ता समितिले हाल बोरिङको काम सञ्चालन गरिरहेको छ । खैरेनीसम्म पाइपलाइन विस्तारको काम अघि बढाएको छ ।
अध्यक्ष लिम्बूका अनुसार साढे ११ लाखको पाइप खरिद गरी काम भइरहेको छ । साढे ३ लाख लिटरको खानेपानीको ट्याङ्की निर्माण गरेको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष लिम्बूका अनुसार समितिमा २४ वटा टोल विकास संस्थाका ३ हजार २ सय ७५ घरधुरी उपभोक्ता छन् ।