वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी चौथो संस्करणको वडा स्तरीय “वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता” अन्तर्गत आईतबार सम्पन्न खेलमा वडा नं. २ विजयी भएको छ।
देविघाटस्थित वसन्तऋतु माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा वडा नं. २ ले वडा नं. ९ लाई शुन्यका विरुद्ध दुई गोलको अन्तरले पराजित गरेको हो।
लिग चरणका दुई वटै खेलमा लगातार जित दर्ता संगै गत संस्करणको बिजेता वडा नं.२ ले ६ अंक जोड्दै समूह बिजेता हुँदै प्रतियोगिताको उत्कृष्ट ४ मा स्थान सुरक्षित गरेको छ ।
१ खेलमा जित र १ खेलमा पराजित बनेको वडा नं ९ पनि प्रतियोगितामा ३ अंक जोड्दै समूह उपबिजेताको रुपमा उत्कृष्ट ४ मा स्थानको यात्रा तह गरेको छ ।
आइतवारको खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. २ का रोहन राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे।
प्रतियोगिताको पहिलो चरण नकआउट खेल सम्पन्न भइसकेपछि विजयी टोलीहरूबीच लिग फर्म्याटमा खेल सञ्चालन भइरहेको आयोजकले जनाएको छ।
उत्कृष्ट ६ टोलीलाई दुई समूहमा विभाजन गरी लिग चरणका खेलहरू जारी छन्। समूह ‘ए’ मा वडा नं. २, वडा नं. ९ र वडा नं. १० रहेका छन् भने समूह ‘बी’ मा वडा नं. १, वडा नं. ३ र वडा नं. ५ रहेका छन्।
लिग चरणबाट उत्कृष्ट ४ टोली छनोट गरी पुनः नकआउट चरणका खेल सञ्चालन गरिने आयोजकले जनाएको छ।
गत संस्करणको विजेताका रूपमा वडा नं. २ ले सिधै उत्कृष्ट ६ मा स्थान सुरक्षित गरेको थियो। साथै वडा नं. १, वडा नं. ३, वडा नं. ५, वडा नं. ९ र वडा नं. १० पनि लिग चरणमा प्रवेश गरेका थिए।
उत्कृष्ट ६ अन्तर्गत लिग चरणको अन्तर्गत अन्तिम खेल सोमबार वडा नं. १ र वडा नं. ५ बीच हुनेछ। दुवै टिम उत्कृष्ट ४ को यात्रा सुरक्षित गरिसकेका छन् । उक्त खेलले समूह बिजेता र समूह उपबिजेता छनोट गर्ने छ ।
“खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान” भन्ने नारासहित सञ्चालन भइरहेको प्रतियोगिता वैशाख २५ गतेसम्म जारी रहनेछ। नगर खेलकुद विकास समितिको आयोजनामा २०७९ सालदेखि लिग-नकआउट ढाँचामा प्रतियोगिता सञ्चालन हुँदै आएको छ।