- फणिन्द्र तिम्सिना
धरान/ धरान उपमहानगरपालिका–४ स्थित सेउती खोलाको जुवाने दोभानमा वर्षौँदेखि अलपत्र परेको पुल अहिले स्थानीयवासीकै सक्रियता र श्रमदानबाट पुनः निर्माण भइरहेको छ।
२०७४ सालमा सुरु भएको पुल तत्कालीन मेयर तारा सुब्बा को असामयिक निधनपछि अधुरै रहँदै आएको थियो। त्यसयता सम्बन्धित निकायको ध्यान नपुगेपछि स्थानीयले आफैं जुटेर निर्माण कार्य अघि बढाएका हुन्।
पुल अभावमा दानाबारी, कालिमाटी, नहरे, जुवाने, हर्दिया लगायतका बस्तीका बासिन्दाले वर्षौंदेखि सास्ती खेप्दै आएका थिए।
विशेषगरी वर्षायाममा सेउती खोलाको बहाव बढ्दा विद्यार्थी, वृद्धवृद्धा र सर्वसाधारणले ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता थियो। केही बालबालिका खोलाले बगाएर ज्यान गुमाएका घटनासमेत स्थानीयले स्मरण गर्छन्।
स्थानीय जीवन राई भन्छन्, “बाल्यकालमा विद्यालय जान यही खोला तर्दा पटक–पटक बगाएको अनुभव छ। अहिले पनि त्यो डर उस्तै छ, तर अब पुल बन्दैछ भन्नेमा खुशी लागेको छ।”
“माग्दा पनि पाएनौँ सहयोग” — स्थानीयको गुनासो
पुल निर्माण संयोजक तथा पूर्व वडाध्यक्ष धनबहादुर राई का अनुसार स्थानीय सरकारले आवश्यक सहयोग नगरेपछि बाध्य भएर समुदाय आफैं अघि सरेको हो।
उनले भने, “हामीले पटक–पटक जेसिबी, ट्र्याक्टर र तारजाली माग्यौँ, तर उपमहानगरपालिकाले सहयोग गरेन। त्यसैले अहिले जनश्रमदान र दाताको भरमा काम गरिरहेका छौँ।”
सल्लाहकार दत्त लिम्बू का अनुसार अघिल्लो पटक सुरु भएको संरचना जीर्ण बनेपछि पुनर्निर्माणको आवश्यकता महसुस गरिएको थियो। “वर्षायाममा बालबालिका र स्थानीयले भोगेको पीडा देखेर हामी आफैंले काम सुरु गरेका हौँ,” उनले भने।
हाल करिब ५० मिटर लामो फलामे पुल निर्माण भइरहेको छ। पुल सम्पन्न भएपछि धरान–४ लाई वडा नम्बर १३ र १४ सँग जोड्नुका साथै धनकुटाको राजारानीसम्म आवागमन सहज हुने अपेक्षा गरिएको छ।
यसले विशेषगरी कृषिउपज बजारसम्म पुर्याउन, बालबालिकाको विद्यालय आवतजावत र बिरामीलाई अस्पताल लैजान ठूलो सहजता ल्याउने विश्वास गरिएको छ।
स्थानीय सरस्वती राई भन्छिन्, “बर्खामा उत्पादन बढी हुन्छ, तर बजार लैजानै सकिँदैनथ्यो। अब पुल बनेपछि हाम्रो जीवन सजिलो हुन्छ।”
निर्माण समितिका सचिव युदिन राई ले २०८३/०१/२० (आईतवार)आजसम्मको सम्पूर्ण आय–व्यय सार्वजनिक गरेका छन्। विवरणअनुसारः
कुल संकलन: बेलायत, अमेरिका, हङकङ, रोमानियालगायत देश–विदेशबाट ४७,५२,७३२ रुपैयाँ संकलन
कुल खर्च: एङ्गल बिम, फलामे पाता, ग्याबियन जाली, जीआई तार, वेल्डिङ , जेसीबी भाडा, ज्याला र ऋण चुक्ता गरी ३३,८८,३४१ रुपैयाँ खर्च
बाँकी रकम: हाल समितिसँग १३,८८,३९१ रुपैयाँ मौज्दात बाँकी रहेको छ। हाल पुलमा रेलिङ हाल्ने काम बाँकी रहेको र त्यसको अर्डर भइसकेको समितिले जनाएको छ।
समग्र परियोजनाको लागत ५५ देखि ६० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ। त्यसैले बाँकी काम सम्पन्न गर्न समितिले थप आर्थिक सहयोगको अपिल गरेको छ।
समितिले अहिलेसम्म सहयोग गर्ने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाताहरूप्रति आभारसमेत व्यक्त गरेको छ।
बर्खा नजिकिँदै गर्दा जोखिम अझ बढ्ने भएकाले स्थानीयहरू कामलाई तीव्र बनाउँदै छिट्टै पुल सम्पन्न गर्ने लक्ष्यमा जुटेका छन्। सरकारको साथ नपाए पनि जनताको एकता, श्रमदान र सहयोगले “असम्भवजस्तो देखिएको काम पनि सम्भव हुन्छ” भन्ने उदाहरण धरान–४ ले देखाइरहेको छ।
