इटहरी/ वि.सं. २०४९ सालदेखि स्थापित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुल, इटहरी–६ मा नर्सरीदेखि कक्षा १० सम्म अध्यापन हुँदै आएको छ। पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको यस विद्यालयका आगामी योजना र शैक्षिक लक्ष्यबारे कोशीपत्रले प्रधानाध्यापक पद्मराज सापकोटासँग गरेको संवाद जसताकाे तेस्तै।
विद्यालयको परिचय संक्षिप्तमा दिनु न ?
अनुशासन, मर्यादा र उत्कृष्टतालाई आफ्नो मूल मन्त्र मान्दै मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुल, इटहरी र यस आसपासका क्षेत्रको शैक्षिक विकासमा समर्पित एक प्रतिष्ठित शैक्षिक संस्था हो।
अनुशासन र संस्कारयुक्त शिक्षालाई अभियानको रूपमा अगाडि बढाएको यस विद्यालयले वि.सं. २०४९ सालदेखि कोशी प्रदेश र मधेस प्रदेशका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ।
विद्यालयको ऐतिहासिक पृष्ठभूमिलाई नियालेर हेर्दा इटहरीका पुराना संस्थागत विद्यालयहरूमध्ये मोडर्न प्रिपेरेटोरी स्कुल पनि एक हो। यस विद्यालयबाट अहिलेसम्म कोशी र मधेस प्रदेशका दशौं हजार विद्यार्थीहरूले विद्यालय तहको शिक्षा लिइसकेका छन्। यहाँबाट उत्तीर्ण विद्यार्थीहरू स्वदेश तथा विदेशका प्रतिष्ठित शैक्षिक संस्थाहरूबाट उच्च शिक्षा हासिल गर्न सफल भएका छन्। समग्रमा, मोडर्न प्रिपेरेटोरी स्कुलले स्थानीय शैक्षिक आवश्यकता पूर्तिका लागि निरन्तर रूपमा काम गरिरहेको छ।
विद्यालयका विशेषता केके छन् ?
विद्यालयमा अनुभवी, दक्ष र प्रतिबद्ध शिक्षकहरूको टोली रहेको छ। शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि नियमित रूपमा तालिम, कार्यशाला तथा पेशागत विकास कार्यक्रम सञ्चालन गरिएको छ।
हाम्रा मुख्य विशेषताहरूः
मल्टिमिडिया तथा सूचना प्रविधि आधारित शिक्षण प्रणाली
स्मार्ट बोर्डमार्फत प्रभावकारी पठनपाठन
लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) को प्रयोग
श्रव्य–दृश्य सामग्रीद्वारा सहज र रोचक सिकाइ
विषय विज्ञबाट नियमित परामर्श तथा उत्प्रेरणा कक्षा यी प्रविधिमैत्री अभ्यासहरूले विद्यार्थीहरूको सिकाइलाई अझ प्रभावकारी, खोजमूलक र सहभागितामूलक बनाएको छ। मल्टिमिडियाको प्रयोग गरेर श्रव्य दृश्य सामग्रीमार्फत प्रभावकारी रूपमा शिक्षण सिकाइका कामहरू सञ्चालन भइरहेका छन्।
सूचना प्रविधिको प्रयोगले शैक्षिक अवसर विस्तारका साथै सिकाइमा गुणस्तर सुनिश्चित गर्न मद्दत पुगेको छ। स्मार्ट बोर्डको प्रयोगले चित्र, रङ र ध्वनिको सम्मिश्रणबाट पढाइ अझ प्रभावकारी बनेको छ। यसै शैक्षिक सत्रबाट लर्निङ म्यानेजमेन्ट सिस्टममार्फत शिक्षणलाई अझ व्यवस्थित बनाइएको छ।
अभिभावकहरूले आफ्ना छोरा–छोरीलाई मोडर्न प्रिपेरेटोरीमा नै किन भर्ना गर्ने ?
मोडर्न प्रिपेरेटोरी स्कुलले बाल मनोविज्ञानलाई ध्यानमा राखेर बालकेन्द्रित शिक्षण पद्धति अपनाएको छ। स्वतन्त्र सिकाइ, अनुशासन, संस्कारयुक्त अभ्यास, आत्म निर्देशित सिकाइ र प्रयोगात्मक शिक्षामा विशेष जोड दिइन्छ। विद्यार्थीहरूले आफ्नै गतिमा सीप विकास गर्न र आफ्नै रुचि तथा प्रतिभा पत्ता लगाउन अवसर पाउँछन्।
पाठ्यपुस्तकलाई अन्तिम सत्य नभई सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्दै शिक्षालाई वास्तविक जीवनसँग जोडिएको, प्रयोगात्मक र अनुसन्धानमूलक बनाइएको छ। पुस्तकालय र डिजिटल माध्यमबाट सामग्री खोज्न प्रोत्साहन गरिन्छ। विभिन्न स्रोतबाट सूचना सङ्कलन, विश्लेषण तथा अनुसन्धानमार्फत नयाँ ज्ञान सिर्जना गर्ने अभ्यास गराइन्छ। उच्चस्तरीय सोच, सृजनशीलता र समस्या समाधान सीपमा विशेष जोड दिइएको छ।
“हामी विद्यार्थीलाई केवल किताब पढाउने होइन, सोच्न, खोज्न र नयाँ सिर्जना गर्न सिकाउँछौँ। त्यसैले हाम्रो विद्यालयमा शिक्षा होइन, भविष्य निर्माण हुन्छ।”
विद्यालयमा पाठ्यक्रम बाहेकका के–के सिकाइ हुन्छन् ?
पाठ्यक्रमबाहेक अतिरिक्त र व्यवहारिक शिक्षामा जोड दिइन्छ। विभिन्न कार्यशाला, क्लब गतिविधि, अध्ययन भ्रमण, प्रदर्शनी र प्रतियोगिताहरू सञ्चालन हुन्छन्।
प्रयोगात्मक अभ्यास अन्तर्गत सामाजिक अध्ययनका विद्यार्थीहरूलाई निर्वाचन प्रक्रिया सिकाउन विद्यालयमै मतदान अभ्यास गराइन्छ। नेपाल प्रहरीसँगको सहकार्यमा लागूऔषध दुव्र्यसन र साइबर सुरक्षासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुन्छ भने सशस्त्र प्रहरीसँग मिलेर विपद् व्यवस्थापन तालिम पनि दिइन्छ।
सामाजिक, साहित्यिक, वैज्ञानिक तथा अन्य क्षेत्रका व्यक्तित्वहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिन्छ। बहुसांस्कृतिक वातावरणमार्फत विद्यार्थीहरूमा सहिष्णुता, विविधतामा एकता र संस्कृतिप्रतिको सम्मान विकास गराइन्छ। विभिन्न क्लब, स्काउट, जुनियर रेडक्रस लगायतका गतिविधिमार्फत विद्यार्थीहरू सामाजिक कार्यमा पनि सक्रिय हुन्छन्।
विद्यार्थी आकर्षित गर्न कुन रणनीति अपनाइएको छ ?
विद्यालय सञ्चालनप्रति सचेत रहँदै अनुशासन र संस्कारसहितको प्रयोगात्मक शिक्षणमा मुख्य जोड दिइएको छ। विद्यालयले प्रचारभन्दा काममा विश्वास राख्दै गुणस्तरीय शिक्षणमार्फत अभिभावक र समाजको विश्वास जित्ने लक्ष्य राखेको छ। विद्यार्थीको क्षमता अभिवृद्धिसँगै प्रयोगात्मक कक्षालाई प्राथमिकतामा राखिएको छ।
अन्त्यमा के भन्नुहुन्छ ?
आजका विद्यार्थी भोलिका कर्णधार भएकाले अनुशासन र संस्कारयुक्त शिक्षामा विद्यालय दृढ छ। व्यवहारिक अभ्यास र मेहनतमार्फत उत्कृष्टता हासिल गर्न सकिन्छ भन्ने कुरालाई प्राथमिकता दिइएको छ।
विद्यार्थीको उज्ज्वल भविष्यका लागि विद्यालय र अभिभावकबिच सहकार्य आवश्यक रहेकोमा जोड दिँदै अभिभावक सचेतना कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्। अभिभावकले विद्यालयसँग नियमित सम्पर्क राख्दै बालबालिकाको शिक्षामा सक्रिय चासो दिनु आवश्यक रहेको सन्देश विद्यालयले दिएको छ।
