धरान/ सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा आगामी प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समुदायले आफ्नो राजनीतिक धारणा सार्वजनिक गरेका छन्।
नेपाल बसोबास बस्ती संरक्षण समिति, धरान उपमहानगर समिति र जिल्ला सुनसरीले शनिबार संयुक्त पत्रकार सम्मेलन गरी सूर्यबहादुर भट्टराई (मनोज) लाई आगामी निर्वाचनमा सहयोग गर्ने घोषणा गरेको हो।
समितिले जारी गरेको विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को घोषणापत्रमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या स्पष्ट रूपमा समेटिएको र दीर्घकालीन समाधानका लागि प्रतिबद्धता व्यक्त गरिएकाले समर्थन गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ।
समितिका सुनसरी अध्यक्ष थाम्सेर लिम्बूले नेकपाले सुकुम्बासीका मुद्दा प्राथमिकताका साथ उठाएको र सरकारमा पुगेपछि स्थायी समाधान गर्ने आश्वासन दिएकाले साथ दिने निर्णय गरिएको बताए।
संस्थापक सदस्य राजकुमार राईले अन्य दलप्रति असन्तुष्टि व्यक्त गर्दै बालेन्द्र साह (बालेन)ले सुकुम्बासीलाई गरिखान नदिएको आरोप लगाए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान नगर्न सुकुम्बासी समुदायलाई आग्रह गर्दै नेकपाले मात्रै आफ्नो मुद्दा बोकेको दाबी गरे।
राईका अनुसार समितिको केन्द्रीय नेतृत्वले समेत राष्ट्रव्यापी रूपमा नेकपा उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरिसकेको छ र यस विषयमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सहमति भएको दाबी गरिएको छ।
विज्ञप्तिमा २०५७ सालदेखि सुनसरीमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको भूमि सहितको सुरक्षित बसोबास अधिकारका लागि संघर्षरत रहेको उल्लेख गरिएको छ। प्रजातन्त्रपछि सात निर्वाचन, ३३ सरकार र १९ वटा सुकुम्बासी आयोग गठन भए पनि समस्या दीर्घकालीन रूपमा समाधान नभएको समितिको भनाइ छ।
समितिले बसोबासको आधारमा ‘फास्ट ट्र्याक’बाट लालपुर्जा वितरण गर्ने स्पष्ट नीति निर्माण गर्न माग गरेको छ। स्थानीय तहको सिफारिसपछि जिल्ला नापी कार्यालयबाट नापजाँच गरी मालपोत कार्यालयमार्फत लालपुर्जा उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्नुपर्ने माग पनि गरिएको छ।
सुनसरी–१ मा करिब १४ हजार घरपरिवार भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेका बताइएको छ।
संगठित रूपमा आएको यस समर्थनले सुनसरी–१ को चुनावी समीकरणमा उल्लेखनीय प्रभाव पार्ने राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।