धरान/ कोशी प्रदेशमा फुटबलको नयाँ ऊर्जा भर्ने लक्ष्यसहित धरानमा प्रदेश स्तरीय ‘यू–१४ स्कुल लेभल गर्ल्स एण्ड ब्वाइज फुटबल प्रतियोगिता’ सोमबारदेखि भव्य रूपमा सुरु भएको छ।
धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन विशेष समारोहका बीच सम्पन्न भएको हो।
कोशी प्रदेश फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाबाट छनोट भएका विद्यालयस्तरीय छात्र तथा छात्रा टोलीहरूको उत्साहजनक सहभागिता रहेको छ। ग्रासरुट तहबाटै प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका सभाध्यक्ष तथा अखिल नेपाल फुटबल संघ ९एन्फा० का वरिष्ठ मानार्थ उपाध्यक्ष, कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले नेपाललाई “फुटबलको देश”का रूपमा विश्वसामु चिनाउने दीर्घकालीन अभियानमा आफूहरू जुटिरहेको बताउनुभयो। उहाँले फुटबल अब केवल मनोरञ्जनको माध्यम नभई युवाको भविष्य र रोजगारीसँग जोडिएको क्षेत्र बनिसकेको उल्लेख गर्नुभयो।
उहाँका अनुसार ग्रासरुट तहका खेलाडीहरूलाई वैज्ञानिक ढंगले अभिलेखीकरण गर्दै ‘फिफा कनेक्ट’ प्रणालीमा आबद्ध गराइनेछ, जसले खेलाडीहरूको तथ्यांक र पहिचानलाई अन्तर्राष्ट्रिय फुटबल जगतसम्म पुर्याउनेछ। फुटबल विकासका लागि सरकारी तथा निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको उहाँले जोड दिनुभयो।
विशिष्ट अतिथि तथा एन्फा सुनसरीका अध्यक्ष नवीन राईले एएफसी र फिफाको मार्गनिर्देशनअनुसार जिल्ला, प्रदेश हुँदै राष्ट्रिय च्याम्पियन छनोट गर्ने संरचना निर्माण भइरहेको जानकारी दिनुभयो। भदौमा जिल्ला, कात्तिकमा प्रदेश र माघमा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने कार्यतालिका रहेको उहाँले बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंले अनुशासित खेल प्रदर्शन गर्न सहभागी खेलाडीहरूलाई आग्रह गर्दै नगरपालिकाको तर्फबाट खेलकुद क्षेत्रलाई निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आज मैदानमा उत्रिएका खेलाडीहरू भोलि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराउने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगिता आगामी ९ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन दिन सोमबार भएका दुई खेलमा छात्रातर्फ सुनसरीको ज्वालामुखी सेकेन्डरी स्कुललाई धनकुटाको मंगलदेवी सेकेन्डरी स्कुलले २–० गोलअन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ। त्यसैगरी छात्रतर्फ सुनसरीको प्रभात सेकेन्डरी स्कुलले धनकुटाको बुधुक सेकेन्डरी स्कुललाई २–१ गोलले हराउँदै विजयी सुरुवात गरेको छ।
कार्यक्रममा एन्फाका पूर्व सह–सचिव गोविन्द राई, वरिष्ठ फुटबल खेलाडी भक्तिराज राई, पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले लगायत खेलप्रेमी तथा पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो।
प्रतियोगिताले कोशी प्रदेशमा ग्रासरुट फुटबल विकासलाई नयाँ गति दिने विश्वास आयोजकको छ।