धरान/ धरान–१६ स्थित रङ्गशालामा जारी २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा साविक उपविजेता चर्च ब्वाइज युनाइटेड ललितपुर सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार सम्पन्न क्वाटर फाइनल खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लब काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।
खेलको सुरुआतसँगै आक्रामक देखिएको चर्च ब्वाइजका रिचर्ड विलसनले पहिलो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाए। उक्त गोल नै खेलको निर्णायक बन्यो। त्यसपछि नेपाल पुलिस क्लबले बराबरीको प्रयासमा खेल नियन्त्रणमा लिने प्रयास गरे पनि पटक–पटकको अवसरलाई गोलमा परिणत गर्न सकेन।
चर्च ब्वाइजको सशक्त रक्षात्मक खेलका कारण पुलिस क्लब प्रतियोगिताबाट क्वाटर फाइनलमै बाहिरिन बाध्य भयो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका चर्च ब्वाइजका रिचर्ड विलसन ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगिताअन्तर्गत भोलि सोमबार आयोजक धरान फुटबल क्लब र लालिगुराँस ए पोखराबीच प्रतिस्पर्धा हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए।
बुढासुब्बा गोल्डकपको विजेताले ट्रफी, मेडलसहित नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ।
साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई डियो स्कुटर प्रदान गरिनेछ। प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ।