धरान/ उदयमान बास्केटबल खेलाडी स्वर्गीय रेवाहाङ राईको स्मृतिमा आयोजना गरिएको चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता को उपाधि धरान मेघा हिमालयन कलेज ले हात पारेको छ।
आइतबार धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न फाइनल खेलमा धरान मेघाले हिमशिखर इङ्लिस बोर्डिङ स्कुललाई ८५–७५ अंकले पराजित गर्दै उपाधि जितेको प्रतियोगिताका बास्केटबल कोच युगल माबो लिम्बु ले जानकारी दिए।
विजेता धरान मेघा हिमालयन कलेजले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।
प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर ९ःख्ए० को उपाधि धरान मेघाका निश्चल मगर ले जितेका छन्। उनले नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
त्यस्तै, राइजिङ प्लेयर तर्फ लोटस इङ्लिस बोर्डिङ स्कुलका शुभम शाही घोषित भए। उनले नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए।
विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेप, कोशी प्रदेशसभा सदस्य रमेश कुमार बस्नेत, धरान मेघा कलेजका प्रिन्सिपल भास्कर पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिङ्थेपले धरान खेलकुदको उर्वर भूमि भएको उल्लेख गर्दै खेलकुद विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघा ले प्रतियोगिताले खेलाडीलाई प्रेरणा दिएको भन्दै स्थानीय सरकारको साथ रहने बताए। प्रदेशसभा सदस्य विजय राई ले खेलकुद विकासका लागि सबैको साझा पहल आवश्यक रहेकोमा जोड दिए।
दक्ष बास्केटबल खेलाडी उत्पादन तथा उनीहरूलाई उचित प्लेटफर्म प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको धरान मेघा कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरे ले जानकारी दिए।
स्वर्गीय रेवाहाङ राईको २०७७ साल माघ २० गते १६ वर्षको उमेरमा निधन भएको थियो। उनका बुवा रेवतिरमण राई र आमा सुजता राई ले छोराको स्मृतिमा अक्षयकोष स्थापना गरी यस प्रतियोगितालाई निरन्तरता दिँदै आएका छन्।
माघ ६ गतेदेखि सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो।