धरान । २० औं ललित–अम्बर डिपो कप–२०८२ को छैटौँ दिन आज तीनवटा निर्णायक खेल सम्पन्न भएका छन्। आज प्लेट च्याम्पियनतर्फ एक तथा डिपो कपतर्फ दुई सेमिफाइनल खेल हुँदा प्रतियोगिताले फाइनलको स्पष्ट रूप लिएको छ।
प्लेट च्याम्पियन सेमिफाइनल
जोलसाय एकाडेमी, धरान–११ र हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरीबीच भएको सेमिफाइनलमा हिमशिखरले ०–१ गोलको संघर्षपूर्ण जित निकाल्दै प्लेट च्याम्पियनको फाइनल यात्रा तय गर्यो। हिमशिखरको जितमा जर्सी नम्बर ९ का सायुन राईले निर्णायक गोल गरे। अब प्लेट च्याम्पियनको उपाधिका लागि हिमशिखर र प्रभात इङ्लिस बोर्डिङ स्कुल, धरान–१२ आमनेसामने हुनेछन्।
डिपो कप : डिपो र धरान इङ्लिस फाइनलमा
पहिलो सेमिफाइनलमा नेपाल पुलिस स्कुल, धरान–१३ विरुद्ध डिपो सेकेण्डरी स्कुल, धरान–१८ ले ०–२ गोलको जित निकाल्दै फाइनल प्रवेश गर्यो। खेलका उत्कृष्ट खेलाडी (म्यान अफ द म्याच) श्रीहाङ लिम्बू घोषित भए।
दोस्रो सेमिफाइनलमा धरान इङ्लिस बोर्डिङ स्कुल, धरान–५ ले आइडल इङ्लिस बोर्डिङ स्कुल, धरान–१४ लाई २–६ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो। यस खेलका म्यान अफ द म्याच साङसाङ लिम्बू घोषित भए।
फाइनल भिडन्त तय
धरान इङ्लिस बोर्डिङ स्कुल, धरान–५ र डिपो सेकेण्डरी स्कुल, धरान–१८ बीच अब डिपो कपको उपाधिका लागि रोमाञ्चक फाइनल हुने पक्का भएको छ।
(म्यान अफ द म्याच : रातो जर्सीमा साङसाङ लिम्बू, उज्यालो हरियो जर्सीमा श्रीहाङ लिम्बू)