विराटनगर/ मोरङको कटहरीबाट प्रहरीले शनिबार मध्यराति गज्जबको सफलता हात पारेको छ। कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकबाट प्रहरीले ३१ क्विन्टल अर्थात् ३ हजार १ सय ५० किलो गाँजा बरामद गर्न सफल भएको हो।
प्रहरी चौकी कटहरीबाट खटिएको टोलीले राति १२ बजेतिर शंका लागेर को १ ख ४५१८ नम्बरको ट्रक जाँच गर्दा बन्दकोपीको बोरामुनि लुकाएर राखिएको १ सय ५ बोरा गाँजा फेला पारेको हो। टोलीको नेतृत्व वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) भीम खड्काले गरेका थिए।
प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिँदै भनिन्, शंकास्पद अवस्थामा आएको ट्रक रोकेर तलासी गर्दा, माथिल्लो तहमा बन्दकोपीको बोरा देखिएको थियो तर मुनि गाँजा लुकाइएको पाइयो।
खास विशेषता के भने — ट्रकसहित गाँजा फेला परे पनि ट्रकका चालक भने अँध्यारोको मौका छोपी फरार भएका छन्। उनीहरूको खोजीका लागि प्रहरीले विशेष निगरानी तीव्र पारेको छ।
गाँजा कुन स्थानबाट ल्याइएको र कसको लगानीमा कारोबार भइरहेको हो भन्ने विषयमा हाल अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार, पहाडी जिल्लामा उत्पादन गरिएको गाँजा भारत तर्फ तस्करी गर्ने योजना थियो।
यो बरामद गाँजा मोरङ जिल्लामै अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको हो। केही दिनअगाडि मात्र असार २५ गते धनपालथान गाउँपालिका–१ स्थित उखुबारीबाट ८ सय २ किलो गाँजा बरामद गरिएको थियो।
गाँजाको अवैध ओसारपसार र कारोबार नियन्त्रण गर्न मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जिल्लाभरि निगरानी तीव्र पार्दै विशेष टोली परिचालन गरेका छन्। उनका अनुसार, “गाँजा कारोबार नियन्त्रणका लागि मोरङमा विशेष अप्रेशन जारी छ। संवेदनशील स्थानमा निगरानी कडा बनाइएको छ।”