विराटनगर/ मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा लुकाएर राखिएको ठूलो परिमाणको गाँजा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको छ।
बुधबार साँझ विशेष सूचनाको आधारमा गरिएको संयुक्त अपरेशनमा सुरक्षाकर्मीले २६ बोरा गाँजा फेला पारेका हुन्।
उखुबारीको झाडीबीचमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन्।
बरामद गरिएको गाँजा अहिले प्रहरीको नियन्त्रणमा छ। घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेकाले खोजी र अनुसन्धानको प्रक्रिया तीव्र पारिएको प्रहरीले जनाएको छ।
गाँजाको ओसारपसारमा संलग्न समूहको पत्ता लगाउन थप सुराकी संकलन र निगरानी बढाइएको प्रहरीले बताएको छ।