धरान /सुनसरीको धरान हुँदै तस्करी गर्न लागिएको ठूलो परिमाणको गाँजा बरामद गरिएको छ भने भण्टाबारी नाका हुँदै नेपाल ल्याउँदै गरेको ब्राउन सुगरसहित एक युवक पनि पक्राउ परेका छन्।
धरान हुँदै लागू औषध तस्करी गर्ने प्रयासमा संलग्न एक अटो चालक गाँजासहित पक्राउ परेका छन् भने अर्को घटनामा भण्टाबारीबाट ब्राउन सुगरसहित एक युवक समातिएका छन्।
मिति २०८२ असार १२ गते राति ११ः२० बजे धरानबाट पकलीतर्फ जाँदै गरेको को. १ ह. ९५१० नम्बरको अटोलाई प्रहरी चौकी भरौलबाट खटिएको टोलीले सुनसरी खोलाको पुल नजिकै चेकजाँच गर्दा, अटोमा लुकाइ राखिएको ७५ के.जी. लागू औषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको हो।
प्रहरीले उक्त अटो चालक इटहरी उपमहानगरपालिका–१० का ४५ वर्षीय सुरतलाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा पठाएको जनाएको छ।
यसअघि सोही दिन बिहान ४ः५० बजे कोशी गाउँपालिका–८ स्थित भण्टाबारी चौकमा भारतबाट ल्याउँदै गरेको अवस्थामा २४ वर्षीय आकाश कुमार मण्डललाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको थियो।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–११ बसोबास गर्ने मण्डलले ल्याएको आँपको काटन चेकजाँच गर्दा, दानाभित्र लुकाइ राखिएको २.५० ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
दुबै घटनामा पक्राउ परेका व्यक्तिहरूविरुद्ध लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।