बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–८ तिनकुनेमा मोटरसाइकलमा गाँजा ओसार्ने दुई युवा विशेष सूचनाको आधारमा पक्राउ परेका छन्।
मंगलबार साँझ ५ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चतराबाट प्रकाशपुरतर्फ जाँदै गरेको को. ३७ प. १२५३ नम्बरको मोटरसाइकल जाँच गर्दा झोलाभित्र लुकाइएको ३४ केजी गाँजा बरामद गरेको हो।
प्लास्टिकले बेरिएको अवस्थामा जेब्राको झोलामा गाँजा लुकाएर लैजाँदै गरेका मोटरसाइकल चालक उदयपुर बेलका नगरपालिका–८ निवासी २२ वर्षीय धिरज राई र पछाडि सवार सोही नगरपालिका–७ निवासी ३१ वर्षीय लोकेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बरामद लागूऔषधसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।