फिदिम/ पाँचथरको हेवाखोला क्षेत्रमा निर्माणाधीन बेलिब्रिज भाँचिँदा तीन जना मजदुरको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
शनिबार अपराह्न फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई जोड्ने मेची राजमार्ग अन्तर्गतको अस्थायी बेलिब्रिज जडानको अन्तिम चरणमा पुग्दा अचानक पुल भाँचिएको हो। पुल भाँचिँदा काममा संलग्न मजदुरहरू खोलामा खस्दा ६ जना घाइते भएका थिए।
घाइते सबै मजदुरलाई सुरुमा फिदिम अस्पतालमा लगिएको थियो। अवस्था गम्भीर भएपछि उनीहरूलाई थप उपचारका लागि विराटनगरस्थित नोबल अस्पताल पठाइएको थियो।
नोबल अस्पतालमा उपचारको क्रममा बाराको सिमरा उपमहानगरपालिका–१२ का ३ जना मजदुर — रूपलाल चौधरी, राजन चौधरी र राकेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए।
अन्य घाइते मजदुरहरू भुलेश्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरीको नोबल अस्पतालमा नै उपचार भइरहेको छ।
गत वर्षको बाढीले पुरानो पुल बगाएपछि वैकल्पिक आवागमनका लागि अस्थायी बेलिब्रिज निर्माण सुरु गरिएको थियो। पुल जडानको अन्तिम तयारी भइरहेका बेला दुर्घटना भएको स्थानीय प्रशासनले जनाएको छ।