सुनसरी/ बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ वटा बङ्गुरको मृत्यु भएको छ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा. मनोजकुमार महतोका अनुसार स्थानीय किसानले व्यावसायिक रूपमा पालेका बङ्गुरमा यो सङ्क्रमण पुष्टि भएको हो।
बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको र तीमध्ये १७ वटाको मृत्यु भएको छ। त्यस्तै, बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण पुष्टि भएकोमा सातवटा बङ्गुर मरेका छन्।
यसैगरी, स्थानीय सुवास श्रेष्ठको बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको र १२ बङ्गुरको मृत्यु भएको डा. महतोले जानकारी दिनुभयो।
हालसम्म बराहक्षेत्रमा मात्र ५७ बङ्गुरमा सङ्क्रमण देखिएको र ३६ बङ्गुरको मृत्यु भइसकेको उहाँले बताउनुभयो।
यसअघि सुनसरीकै दुहबी, रामधुनी र धरानमा पनि अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको थियो।