धरान । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलीय पार्टीहरूले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ भने झापाको दमक दिउँसो तनाब ग्रस्त भयो ।
बन्दकर्ता र प्रहरीबीच पटकपटक झडप भयो । आइतबार दिउँसोदेखि शुरु भएको झडपका क्रममा एक जनालाई टाउकोमा चोट लागेको छ ।आन्दोलनकारीहरुले साना ठुला गरि तीन वटा सवारीमा तोडफोड गरेका छ्न ।
बन्द गराउने समुहका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ भने तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो ।आइतबार दमकबाट पक्राउ परेका आन्दोलनकारीहरुमा पदम बेघा, धनकुमार योङ्हाङ, शुक्रबीर लिम्बु, आदित्य फियाक, प्रकाश लाबुङ, सन्देश लिम्बु, नाम्साङ लिम्बु र तत्काल नाम नखुलेका एक जना छ्न ।
त्यस्तै धरानबाट ६ जना बन्दकर्ता पक्राउ परेका छन् ।मुकुम्लुङ अन्तरदलीय राजनीतिक पार्टीले आइतबार र सोमबार अरुणपूर्व नौ जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा बन्दको आह्वान गरेको हो ।बन्दका कारण धरान सहित इटहरी,दमक , विर्तामोड लगायतको स्थानको जनजीवन प्रभावित बन्यो ।बन्दका कारण कोशी पहाडका जिल्लामा सवारी साधन ठप्प भए । कोशी राजमार्ग धरानबाट धनकुटा हुँदै तेह्रथुम र संखुवासभा जाने तथा पहाडी क्षेत्रबाट तराई जाने सवारी साधन सञ्चालन हुन सकेन्। प्रशासनले बाक्लो सुरक्षाकर्मी परिचालन गरेको थियो भने आन्दोलनरत पक्ष पनि उतिकै सडकमा तैनाथ थिए ।
तमोर करीडोर ठप्प हुँदा धनकुटाको गढतिर क्षेत्र तथा ताप्लेजुङ, पाँचथर लगायतको स्थानमा सञ्चालन हुने सवारीसाधन सञ्चालन भएका छैनन्। धरानबाटै सवारीसाधन नआएका कारण यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ।आफूहरूको धार्मिक आस्थामा खलल पु¥याउने गरी व्यापारिक घरानालाई केबुलकार बनाउन दिएको भन्दै विरोध गर्दै आएका उनीहरू केही दिनअघि प्रहरीसँगको झडपमा ३ जना गोली लागी गम्भीर घाइते भएपछि थप आन्दोलनमा उत्रिएका हुन्।केबुलकार निर्माण रोक्नुपर्ने, प्रहरीले गोली हानी घाइते बनाएकाहरूको आजीवन जीवन निर्वाहको व्यवस्था गर्नुपर्ने र यसअघ गिरफ्तारीमा परेकालाई विनाशर्त रिहाइ गर्नुपर्नेमाग राखी उनीहरूले दुई दिन बन्द आह्वान गरेका हुन् ।
गृह मन्त्रालयले पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिइसकेको छ।यता बन्दले जनजीवन प्रभावित बन्दै जाँदा आन्दोलनकारी पक्षधरहरु पनि सरकारले औपचारिक बार्ताको आव्हान गरेको खण्डमा वार्ता गरेर अघि बढ्ने बताएका छन् । संघर्षरत धरान आर्कका सदस्य ताजुब लिम्वुले वार्ता संघीय सरकारले औपचारिक रुपमा आव्हान गर्नु पर्ने बताए ।
उनले भने,“प्रदेश सरकारले वार्ता आव्हान गरेको मान्य हुन्न,यो संघीय सरकारको जिम्मेवारी हो,हाम्रो माग सरकारले संवोधन गर्दछ भने केन्द्रिय सरकारले बार्ताको आव्हान गर्न जरुरी छ।”तर अर्का नेता भने वार्ता भन्दा पनि आफुहरुको एकसुत्रीय माग नै पहिलो सर्त भएको बताउँछन् ।आन्दोलनरत पक्षका नेता अमर इजमले उक्त कुरा बताएका हुन् । सोमबार सम्म सांकेतिक रुपमा आन्दोलन गरेका हौ,तथापी पनि भएन भने आम हडताल निश्चित छ, इजमले भने ।