विजयपुर / चैत पहिलो साता चौथो मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगिता धरानमा हुने भएको छ ।
आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत ३ र ४ गते धरानमा चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको हो ।
आयोजक एलाइनेट जिमले मंगलबार धरान १८ बुद्धचोकस्थित एमसी क्याफेमा पत्रकार सम्मेलन गरेको थियो ।
आयोजक संंस्थाका अध्यक्ष बिक्रम लिम्बुले प्रतियोगितामा ५० जनाले सहभागिता जनाउने बताए । उनले भने–‘या हाम्रो २० औं प्रस्तुति हो, चौथो मिस्टर शारीरिक सुगठन प्रतियोगितामा साविकको कोशी अञ्चलका ५० जना खेलाडीहरु सहभागी हुने छन् ।’ उनले प्रतियोगिताको विजेताले नगद १ लाख १० हजार, दोस्रो हुने नगद ५० हजार, तेस्रो हुनेले ४० हजार, चौथा हुनेले ३० हजार, पाचौ हुनेले ले २० हजार र छैठौ हुनेले १० हजार नगद, ट्रफी, मेडल पाउने उनले जानकारी दिए ।
उनले प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ८० केजी तौल समुहबाट खेलाडीहरु सहभागी हुने बताए ।
यसैगरी उनले विद्यागत रुपमा पुरस्कृत गरिने बताए । उनले भने–‘हामीले विद्यागत रुपमा विगतदेखि नै पुरस्कृत गर्दै आइरहेका छौ, व्यक्तिगत विद्यातर्फ वेस्ट पोजर, मोस्ट इम्प्रभमेन्ट बडी र मस्कुलर मेनको उपाधि विजेतालाई जनही नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र दिने व्यवस्था गरेका छौै ।
आयो्जकका अनुसार फाइनलमा एक तौल समूहबाट ६ जना गरि कुल ३६ जना खेलाडीले प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् । प्रत्येक तौल समुहबाट प्रथम हुनेबाट ओभरअल फाइनल हुने अध्यक्ष लिम्बुले् जानकारी दिए । ओभरअल राउण्डमा प्रथम हुनेले उपाधि ट्रफीसहित नगद १ लाख १ हजार हात पार्ने उनले बताए ।
२०६५, २०६६ र २०६७ सालमा मिस्टर कोशीको आयोजना भएको उनको भनाई थियो । ०६५ र ०६६ मा उर्लाबारीका विकास धिमाल विजेता भएका थिए भने २०६७ मा धरानका मिलन चाम्लिङले उपाधि जितेका थिए ।