भोजपुरमा आम्दानीको स्रोत बन्दै वन लसुन, के हो वन लसुन ?

  • असार ३, २०७९
  • "रासस"
alt

धरान । खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन (हाँडे लसुन) भोजपुरका अधिकांश वासिन्दाको राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक रुपमा यसको खेती थालनी नभएपनि यहाँका स्थानीयवासीले वन लसुन विक्री गर्दै आएका छन् ।

डिभिजन वन कार्यालय भोजपुरका अनुसार यसवर्ष मात्र यहाँबाट रू. एक करोड बराबरको करीब ५५ टन वन लसुन बाहिएको छ । व्यावसायीहरुले वन कार्यालयबाट पूँर्जी काटेर आधिकारिक रुपमा विक्री गर्ने गर्दछन् भने कतिपयले सिधै बजारमा पु¥याउने गरेका छन् ।

वन लसुनको विक्रीबाट यस वर्ष जिल्लामा रू. एक करोड १० लाख बराबर रकम भित्रिएको वन कार्यालय भोजपुरले जानकारी दिएको छ । खेती नगरिएपनि खेतबारी पाखाभित्तामा यो लसुन प्रशस्त मात्रामा पाइने गर्दछ । एक पटक खेतबारीमा लगाएपछि सामान्य हेरचाह गरे मात्र पनि २०÷२५ वर्षसम्म आम्दानी लिन सकिन्छ ।

स्थानीयवासीले यसलाई संकलन गरेर सुकाएपछि प्रतिकेजी २२० देखि २५० रुपैयाँसम्म पाउने गरेका छन् । यसको गानोलाई उसिनेर सुकाएपछि बिक्रीको लागि योग्य हुने गर्दछ । एक रोपनी जग्गामा १२० केजीसम्म उत्पादन लिन सकिने कृषकहरु बताउँछन् ।

केही वर्षदेखि वन लसुनको व्यावसायिक कारोबार गर्दै आएका रुद्र लुइँटेलले यसको बजार माग धेरै रहेको बताए । वार्षिक रुपमा भोजपुरबाट एक करोड बढी मूल्यको वन लसुन अन्य देशमा जाने गरेको उनले बताए । लुइँटेलले भने, ‘बजारमा वन लसुनको माग धेरै छ । व्यावसायिक रुपमा खेती गर्ने हो भने पनि बजारको समस्या छैन ।’ आफूले यस वर्ष नै ३५ टन लसुन बजारमा विक्री गर्न सकेको उनको भनाइ छ ।

एक प्रकारको फूल जस्तो देखिने यो लसुन फागुन÷चैत महीनामा संकलन गर्ने गरिन्छ । यसरी संकलन भएको लसुन स्थानीय ठेकेदारले झापा, काठमाडौंलगायत विभिन्न शहरमा मात्र नभई छिमेकी मुलुक भारतलगायत देशमा समेत निर्यात गर्ने गर्दछन् ।

स्थानीयमा व्यावसायिक धारणाको विकास भएमा वन लसुन राम्रो आम्दानीको स्रोत बन्ने व्यवसायी लुइँटेलले बताए । यहाँका खेर गइरहेका जग्गालाई सदुपयोग गरेर यसको व्यावसायिक खेती गरे स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउन टेवा पुग्ने देखिन्छ ।

वन लसुन आमचोक गाउँपालिकाको थिदिङ्खा, भोजपुर नगरपालिकाको दाँवा, बोखिम, आम्तेक, पौवादुङमा गाउँपालिकाको श्यामशिला, तिवारी भञ्याङलगायत जिल्लाका विभिन्न ठाउँमा प्रशस्त मात्रामा पाइन्छ । खेतबारीमा उम्रिएर धान, मकै, कोदोलगायत बालीलाई ढाकेर दुःख दिने भएकाले किसानले उखेलेर नष्ट गर्दै आएका छन् । ‘यो विक्री हुन्छ भन्ने पहिला हामीलाई थाहा थिएन ।

हाम्रो ध्यान यसलाई कसरी नष्ट गरेर अन्य बालीलाई जोगाउने भन्नेमा जान्थ्यो । विक्री हुने थाहा भएपछि अहिले संकलन गरेर सुकाएर बेच्न थालेका छौँ’ टेम्केमैयुङ–१ तिम्माका कृषक डम्बरबहादुर विष्टले भने, ‘संकलन भएको लसुन किन्न ठेकेदारहरु घरमा नै आउँछन् । यसलाई केलाएर सुकाउन चाहिँ अलि झन्झटिलो छ ।’

देशभरबाट संकलन भएको यो लसुन डाबर नेपालमार्फत अन्य देशमा निर्यात हुने गरेको काठमाडौंमा व्यवसाय गर्दै आउनु भएका पुष्पराज खड्काले बताए । प्रशोधन गरेर राम्रो खालको चेवनप्रासमा र त्यसबाट बाँकी रहेको वस्तु साबुनसँगै अन्य धेरै वस्तुहरुको उत्पादनमा प्रयोग हुने खड्काले जानकारी दिए ।

यो लसुन समुन्द्री सतहबाट ८०० मिटरदेखि दुई हजार मिटरसम्मको उचाइमा प्रशस्त मात्रामा पाइने डिभिजन वन कार्यालयले जनाएको छ । स्थानीयवासीको आयस्रोतमा वृद्धि गर्नको लागि आगामी दिनमा यसको खेतीलाई प्रोत्साहन गर्ने योजना रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख उदिमप्रसाद राईले बताए ।

उनले भने, ‘यहाँ धेरै वन लसुन उत्पादन हुने सम्भावना रहेकाले कृषकलाई यसतर्फ आकर्षित गर्न सकिएमा राम्रो आम्दानी गर्न सकिने भएकाले योजनावद्ध रुपमा काम गर्ने तयारीमा छौँ ।’

रामप्रसाद राई गाउँपालिका—१ ओख्रेका एक सय बढी कृषकले यसलाई आमदानीको भरपर्दो स्रोत बनाउन थालेका छन् । एक कृषकले २०० देखि ४०० केजीसम्म विक्री गर्दै आएको स्थानीय कृषक डिबी राईले जानकारी दिए । राम्रो ढंगले संकलन गर्न सके यसबाट मकै, आलुभन्दा राम्रो आम्दानी लिन सकिने कृषक राईको भनाइ छ ।

किसानले यसलाई फुलेको समयभन्दा पनि फूल झरिसकेपछि संकलन गर्ने गर्दछन् । फूल फुलेको समयमा संकलन गर्दा यसको तौल कम हुने कृषकको भनाइ छ । उचित समय पारेर संकलन गरेमा एउटा गानो २५ ग्रामसम्मको हुने उनीहरुको भनाइ छ ।

के हो वन लसुन ?
नेपालको रैथाने विरुवा वन लसुनको वैज्ञानिक नाम लिलियम एसपिपी हो । यसको बोट सामान्यतः एकदेखि दुई फुटसम्म अग्लो हुन्छ । यसलाई एक प्रकारको फूलको रुपमा पनि लिन सकिन्छ । चिल्ला पातको छेउबाट सुन्दर फूलहरू फुलेको हुन्छ ।

तापक्रम र उचाइको आधारमा यसका फूलहरु सेतो, सुनौलो, हल्का पहेंलो फूलेको देखिन्छ भने यसको फूलमा ६ ओटा पुङ्केशर हुन्छ । यो बिरुवा वनस्पति जगतको लिली परिवारभित्र समावेश छ । यसको गानोमा लाग्ने पोटीहरू छाती दुख्दा खाने गरिन्छ भने यसलाई शक्तिबद्र्धक जडीबुटीको रुपमा पनि लिने गरिन्छ ।

शरीरमा तागत कम भएमा यसलाई खान सकिने स्थानीय जानकारहरुको भनाइ छ । वन लसुन घाउ, चोटपटक तथा शल्यक्रियाका बिरामीलाई औषधिको रुपमा प्रयोग हुने बताइएको छ । यसलाई कतिपय स्थानीयवासीले सजावटको लागि फूलबारीमासमेत रोप्ने गरेका छन् भने कतिपय कृषकले यसलाई मिचाहा प्रकृतिको वनस्पति रुपमा लिने गर्दछन् ।

भोजपुरलाई वन लसुनसँगै अन्य जडीबुटी उत्पादनको हिसाबले उर्बर जिल्ला मानिन्छ । यहाँ सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदमचाल, वन मूला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोठसल्ला, चिराइतो विखुम्बालगायत जडीबुटी पाइन्छ । 

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved