धरान । स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा धरानको १५ नं. वडा फाइनलमा प्रवेश गरेको छ ।
बुधबार धरान रंगशालामा भएको खेलमा धरान १९ लाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै १५ नं. वडा फाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमले गोल गर्न सकेनन् भने थप १५ मिनेटको खेलमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
टाइब्रेकरमा धरान १५ का आशुतोष राई, मदन लाबुङ र बावरजंग कार्कीले गोल गरे भने रोमन लिम्बूको प्रहार पोष्ट बाहिरीएको थियो । त्यस्तै धरान–१९ का विनोद राईले मात्र गोल गरे । बविन लामा र आशिष राईको प्रहार बारमा लागेर फर्किएको थियो भने अतित लिम्बूको प्रहार १५ नं. वडाका गोल किपर प्रविण राईले बचाएका थिए । गोल किपर प्रविण राई खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई नगद २५ सय पुरस्कार प्रदान गरिएको थियो ।
विहिबार दिउसो ४ बजे धरान रंगशालामा वडा नं. १३ र ११ बीच सेमिफाइनल खेल हुने प्रतियोगिताको व्यवस्थापक धरान भेट्रान्स फुटबल क्लबले जनाएको छ ।
गोधुली रनिङ कपका उत्कृष्ट ८ टिम सहभागी प्रतियोगितामा ८ टिमलाई दुई समुहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतियोगिता भइरहेको छ । समुह विजेता र उपविजेता प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा विजेता टिमहरुले फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । फागुन २८ गते सुरु भएको प्रतियोगिता चैत्र १२ गतेसम्म चल्नेछन । प्रतियोगताको विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।