धरान । चौबिसे गाउँपालिकामा जनप्रतिनिधी निर्वाचित भए पछिका ५ वर्षे कार्यकालका उपलब्धीहरु सार्वजनिक गरिएको छ ।
पालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरि सामाजिक कार्य देखि विकाश निर्माण, शैक्षिक विकाश, भौतिक संरचना निर्माण लगायतमा गरिएको लगानीबाट भएका उपलब्धीहरु सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले पालिकालाई पद्दतीमा सन्चालन गर्न ५० वटा ऐन, कार्यबिधि, निर्देशिका, नियमावली र बिनियमावली बनाईएको जानकारी दिए ।
पालिकाले ३ ठूला सडकहरु लाप्से कुरुले फलामेटार, राजारानी बोधे हङ्शमोरङ्ग र धाराचौक अठारसय कुरुले सडक निर्माण तथा स्तरउन्नतीको काम गरेको उनले जानकारी दिए । त्यस्तै भौतिक संरचना तर्फ भुकम्प प्राधिकरण सँगको समन्वयमा ४५ वटा बिद्यालय भवन, १५ शौचालय, १० खोप केन्द्र, ६ वटा स्वास्थ्य चौकी, ३ वटा सामुदायीक स्वास्थ्य ईकाइ भवन निर्माण गरिएको छ । त्यस्तै प्रशासनिक भवन, जनजाति संग्राहलय, मगरजातिको संग्राहलय, सामुदायिक भवन, न्यायीक समितिको भवन, कवर्ड हल, नमुना बिद्यालय भवन, बिभिन्न चर्चहरु निर्माण तथा संम्हार, १ झोलुंगे पुल निर्माण तथा २ निर्माणाधिन सहित १७ वटा संरचनामा काम भइरहेको उनले बताए ।
स्वास्थ्य तथा सरसफाई तर्फ १२ वटा स्वास्थ्य संस्थाहरुमा सुलभ फार्मेसी सन्चालन गरिएको छ भने ५ वटा स्वास्थ्य संस्थाहरुमा ल्याव, ४ वटा स्वास्थ्य संस्थाहरुमा बर्थिङ्ग सेन्टर(प्रसुतीसेवा) सन्चालन गरिएको छ । राजारानी स्वास्थ्य चौकीलाई १० शैयाको अस्पतालमा स्तरउन्नती गरिएको,बिभिन्न स्वास्थ्य संस्थाहरुलाई आवश्यकता अनुसार स्वास्थ्य उपकरण तथा दरबन्दिको ब्यबस्था,१० देखि ५० प्रतिशत सम्म छुटमा एम्बुलेन्स सेवा,अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामाग्री बितरण कार्यक्रम गरिएको छ ।
त्यस्तै सामाजिक बिकास तर्फ दलित तथा माझी बस्तीहरुमा बन्न लागेको ४६ घर मध्ये १० वटा सकिएको र ३६ वटा निर्माणको चरणमा रहेको छ । पालिकाका १ हजार ५ सय भन्दा बढी घरधुरीलाई जस्तापाता बितरण गरिएको छ भने १ सय ३९ जनालाई सोलार बितरण गरिएको छ । जेष्ठ नागरीकहरुलाई समाजिक सुरक्षा भत्ता, बिभिन्न सिप तथा उद्यमशिलता तालिम, बिभिन्न राहत तथा खाद्यन्न बितरण लगाएतका ३८ शिर्षकहरुमा पालिकाले काम गरेको छ । शैक्षिक क्षेत्रमा पालिकाले सरकारी कर्मचारीहरुका छोराछोरी अनिबार्य सामुदायिक बिद्यालयमा पढाउनुपर्ने नीति लागु गरेर ९० प्रतिशत भन्दा बढी सफलता हाँसिल गरेको छ ।
त्यस्तै कृषि तथा पशु पालनको क्षेत्रमा ३६ किसानहरुलाई मिनीटिलर ५ सय जनालाई प्लाष्टिक टनेल,१२ वटा सिंचाई आयोजना सम्पन्न भएका छन् भने पालिका र प्रदेशको कार्यक्रम अन्तर्गत ४२ जनालाई पशुपालनमा अनुदान दिईएको छ । २६ सय घरलाई बिषादी बितरण तथा करिव २५ हजारको हाराहारीमा किवी, एभोकाडो, सुन्तला, ओखर, कागती लगाएका बिरुवाहरु बितरण गरिएका छन् ।
एक वडा एक खेल मैदान कार्यक्रम अन्तर्गत हाल सम्म बिभिन्न ५ वटा वडामा खेल मैदान निर्माण गरेको पालिकाले हरेक बर्ष जिल्ला तथा पालिका स्तरका फुटवल, भलिवल तथा ब्याटमिन्टन प्रतियोगिताहरु गर्दै आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । पालिकाले ५ बर्षको अबधिमा १६ सय ५० महिला र ८ हजार २१ महिलालाई रोजगारी शिर्जना गरिदिएको जनाएको छ । पालिकाले १ अर्ब १ करोड ८७ लाख बराबरको रकम खर्चेर नागरिकका ३ सय ९७ घरहरु पुर्ननिर्माण गर्ने काम जारी राखेको अध्यक्ष राईले बताए ।
पालिकाले नवनिर्मित प्रशासनिक भवन उत्घाटन, जग्गा दाताहरुलाई सम्मान तथा छात्रबृत्ति बितरण कार्यक्रम समेत आयोजना गरेको छ । २ करोड ३४ लाख ७६ हजार लागतमा निर्मित भवन तथा पालिकाका लागि साढे ६ रोपनी जग्गा दान गर्ने ८ परिवारलाई कार्यक्रममा सम्मान गरिएको थियो । सम्मानित हुनेमा वडा नं.६ चौबिसेका सन्तोष र सोनिया लिम्बूको परिवार, पूर्ण प्रसाद चेम्जोङ्ग र सबिना राई, मनकुमारी र बुद्धिमान लिम्बूू, सान्तकुमार र मनिला लिम्बू, भक्तमान लिम्बू र रत्नकुमारी राई, उपप्रसाद तामाङ र दिलकुमारी राईको परिवार रहेका छन् । त्यस्तै वडा नं. ७ का प्रेम, राज, टंक, अशवीर लिम्बू, वडा नं.९ का सोह्रहाङमा लिम्बू, भक्तशेर लिम्बूको परिवार रहेका छन् ।
सार्वजनिक कार्यक्रममा पालिकाले नमुना बिद्यालय पुण्य उच्च मा.बि.को कक्षा ११ र १२ मा होटल ब्यबस्थापन र बिज्ञान बिषयमा अध्ययनरत २० जना छात्रछात्राहरुलाई छात्रबृत्ति रकम प्रदान गरेको छ । पालिकाले आ.ब.०७८÷०७९ को बजेटबाट होटल ब्यबस्थापनमा अध्ययनरत ७ जनालाई ४० हजारका दरले र बिज्ञान संकाय तर्फ अध्ययनरत १३ जनालाई जनही ३० हजारका दरले रकम हस्तान्तरण गरेको छ । पालिकाले २०७४ सालबाट निरन्तर रुपमो छात्रबृत्ति दिंदै आएको छ । त्यस्तै पालिकाले आ.ब.०७७÷०७८ को बजेटबाट सारदा मा.बि.६ नं.बुधबारेमा सिभिल ईन्जिनियरिङ्ग बिषयमा अध्ययनरत कक्षा ९ र १० का ८ जना छात्रछात्राहरुलाई पनि जनही १८ हजारका दरले छात्रबृत्ति प्रदान गरेको छ ।