धरान । उच्च अदालतमा पुगेको धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसको जग्गा बचाउन बलियो कानुनी प्रतिरक्षा गर्न जनप्रतिनिधिहरुले पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
क्याम्पसको जग्गा बचाउन पुर्व क्याम्पस प्रमुख कुमार बहादुर कार्कीको संयोजकत्वमा समितीनै गठन गरेर अभियान संचालन गर्दै आएको छ ।
समितीको सल्लाहाकारका रुपमा रहेका प्रदेश संसद, संघीय संसद र धरान उपमहानगरपालिकाका मेयर र उपमेयर सँग बुधबार गरेको छलफलमा सबैले आ–आफ्नो ठाउँबाट जग्गा जोगाउन पहल गर्ने निर्णय गरेको क्याम्पसका प्रमुख दामोदर भण्डारीले बताए ।
उनका अनुसार धरान उपमहानगरपालिकामा बसेको बैठकमा जनप्रतिनिधिहरुले आ–आफ्नो ठाउँबाट जग्गा संरक्षणमा पहल गर्ने प्रतिवद्धता जनाएका हुन् । मेयर राईको अध्यक्षतामा बसेको बैठकमा प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीको पनि बिशेष उपस्थिति रहेको थियो । बैठकमा समितीले जग्गा बचाउन गरेका पहलहरुका विषयमा जनप्रतिनिधीहरुलाई जानकारी समेत दिएको थियो ।
बैठकमा सभामुख भण्डारीसँगै प्रदेशसभा सदस्यहरु चन्द्रप्रसाद श्रेष्ठ, उमिता वराइली, सात्रिवी श्रेष्ठ जोशी, उपमेयर मञ्जु भण्डारी सुवेदी सहभागी थिए । संघीय संसदहरु जय कुमार राई, मिन विश्वकर्मा र मिना सुब्बा भने अनुपस्थित रहेका थिए । मोहीमा सम्बन्धित रहेका व्यक्तिहरु सँग छलफल गरिदिन जनप्रतिनिधीहरुलाई आग्रह गरिएको क्याम्पस प्रमुख भण्डारीले बताए । उनले भने, हामीले मोहीमा जोडिएका व्यक्तिहरु सँग छलफल गरिदिन आग्रह गरेका छौं, सबै जनप्रतिनिधीहरुले सकारात्मक रुपमा लिनु भएको छ ।’
उच्च अदालतमा पुनरावेदन गरिएको मुद्धाको फागुन २५ गते पेशी रहेको उनको भनाई छ । यस अघिका तिन पटकको पेशी सर्दै आएको उनले बताए । उनका अनुसार पहिले पेशीका दिन बिदा परेको, दोस्रो साप्ताहिक पेशीमा परे पनि दैनिक सुचिमा परेन, तेस्रो पेशी क्याम्पस तर्फका वकिलहरुले समय दिन नसक्दा पेशी सरेको थियो । क्याम्पसको जग्गा जोगाउन ७ जना वकिलहरुले वकालत गरिरहेको उनको भनाई छ ।
क्याम्पसले २०३४ सालमा धरान ११ स्थित स्वास्तिक चोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा खरिद गरेको थियो । उक्त जग्गाको स्रेस्तामा मोही डम्बरबहादुर घिमिरे थिए । मोही परिवारलाई खुशी बनाएर नै जग्गा क्याम्पसलाई बिक्री गरिएको तत्कालिन जग्गाधनी श्याम गोविन्द श्रेष्ठले बताउदै आएका छन् । स्रेस्ताबाट मोहीको लगतकट्टा नहुँदा अहिले भुमाफियाले मोहीको छोरालाई अघि सारेर जग्गा कब्जा गर्न लागेको क्याम्पसले आरोप लगाएको छ ।
क्याम्पसको उक्त जग्गामा मोही पक्षको भोगचलन अहिले सम्म पनि छैन । त्यहाँ क्याम्पसले घेराबारा गरेर छात्रावास निर्माण गरेको छ । मोही घिमिरेको २०५६ सालमा नै मृत्यु भएको थियो भने उनकी पत्नी शिवकुमारीको पनि २०६४ सालमा निधन भइसकेको छ । घिमिरे दम्पत्तिको निधन भएको लामो समयपछि छोरा यज्ञबहादुरले २०७५ मा नाता प्रमाणित गरेर मोही हक आफ्नो नाममा नामसारी गर्न भुमिसुधार कार्यालयमा निवेदन दिएपछि कार्यालयले मोही हक नामसारी गर्ने फैसला गरेको थियो । त्यसविरुद्ध क्याम्पस प्रशासनले पुष १४ गते उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ भने पटक पटक विद्यार्थीहरु सहित धरानका नागरिक समाजले आन्दोलन गर्दै आएका छन् ।