धरान । धरानका स्थानीय गल्फर राजकुमार राईले शनिबार सम्पन्न एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि हात पारेका छन् ।
निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्षमा सम्पन्न प्रतियोगितामा शुक्रबार पहिलो दिन राजकुमारले ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै अग्रता बनाउन सफल भएका थिए । पाँचौँ संस्करणको दोस्रो दिन खेलेका कुनै पनि खेलाडीले राजकुमारको भन्दा बढी स्कोर गर्न नसकेपछि राईले उपाधि जितेका हुन् । धरान गल्फ क्लबमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको थियो । धरानका राजकुमारले २ ‘ह्यान्डी क्याप’मा खेल्दै समग्रमा ५ बर्डी र २ बुगी खेलेका थिए । जसका कारण राईले ‘मोस्ट बर्डी’को उपाधि पनि हात पारे ।
विराटनगरका खेलाडी सुयश प्याकुरेल दोस्रो स्थानमा रहन सफल भए । सुयशले ३७ स्टेबलफोर्ड स्कोर गरेका थिए । सुयशसगै धरानका काजी राई र काठमाडौंका संगम केसीले पनि समान ३७ स्टेबलफेर्ड स्कोर गरेका थिए । सुयशले ‘ब्याक नाइन’मा १९ स्कोर गरेका थिए भने काजीले १८ र संगमले १६ स्कोर गरेका थिए । त्यसकारण सुयश दोस्रो स्थान हासिल गर्न सफल भएका हुन् । सुयश प्याकुरेल उद्योग संगठन मोरङका अध्यक्ष समेत हुन् । धरानका स्थानीय खेलाडी सुन्दर राईले कुल ३६ ग्रस स्कोर जोड्दै ‘बेस्ट ग्रस’को उपाधि जिते ।
महिलातर्फ पहिलो दिन नै अग्रस्थानमा रहन सफल काठमाडौंकी खेलाडी सुस्मासिंह शाहले ३९ स्टेबलफोर्ड स्कोर गर्दै उपाधि जितिन् । दोस्रो स्थानमा रहन सफल धरानकी सुमित्रा लिम्बूले ३७ स्टेबल फोर्ड स्कोर गरिन् । महिलातर्फ सनराइज बैंककी डेपुटी सीईओ आरती राणाले ३५ अंक जोड्दै तेस्रो स्थान हासिल गर्न सफल भइन् ।
६० वर्षमाथिका खेलाडी सिनियर तर्फ महेन्द्र मैनाली विजयी भएका छन् । उनी ‘काउन्ट ब्याक’मा विजयी हुन सफल भएका हुन् । उनीसँगै अर्का सिनियर खेलाडी भाइराजा पाण्डेले समान स्कोर गरे पनि काउन्ट ब्याकमा पछि परेका हुन् । जोसेफ नाथनले ‘क्लोजेस्ट टु दी पीन’को उपाधि जिते । उनले बललाई होलको ५ फिट ५ इन्चनजिक राख्न सफल भएका थिए । त्यस्तै, संगम केसीले ‘लङ्गेस्ट ड्राइभ’को उपाधि जित्न सफल भए ।
‘स्टेबलफोर्ड फर्म्याटमा ३ बाई ४ ह्यान्डी क्यापमा खेलाइएको प्रतियोगितामा पहिलो दिन ५२ र दोस्रो दिन ४२ गरी जम्मा ९४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये महिलातर्फ ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा धरानका एकहाते गल्फ खेलाडी बलराम राईलाई विशेष सम्मान गरिएको थियो ।
बाह्रखरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको गल्फ प्रतियोगितामा एनसेलले गल्फ खेलको माध्यमबाट देशको आर्थिक, सामाजिक र पर्यटनलगायत क्षेत्रको विकासमा योगदान पु¥याउन प्रमुख प्रायोजकका रूपमा विगत तीन वर्षदेखि सहकार्य गर्दै आएको छ । यो वर्षको गल्फ प्रतियोगितामा गल्फ खेलाडीसहित करिब पाँच सय पाहुना धरानमा सहभागी भएका थिए ।