इन्सेटमा मोही नामसारी गरिएको जग्गा
धरान/ चालिस वर्ष अघि खरिद गरेको जग्गामा मोही दाबी गरेका यज्ञ बहादुर क्षेत्रीको नाममा मालपोत तथा भुमिसुधार कार्यालयले मोही नामसारी गरिदिए पछि महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा संरक्षण गर्न सरोकारवाला पक्षहरु एकताबद्ध भएका छन् ।
खरिद गरेको वर्ष देखिनै क्याम्पसले भोगचलान गर्दै आएको जग्गामा एकाएक मोही दाबी गर्दै आए पछि क्याम्पसका प्राध्यापक, कर्मचारी सहित विद्यार्थी, धरानका नागरिक समाज मालपोत तथा भुमिसुधार कार्यालयको निर्णयको विरुद्धमा एकताबद्ध भएका छन् । क्याम्पसको तर्फबाट बुधबार उच्च अदालतमा पुनरावेदन बुझाउन जाने कार्यक्रममा समेत सहभागि हुने प्रतिबद्धता जनाएका छन् ।
मोही जग्गा प्रकरणबारे आयोजना गरेको सार्वजनिक वहस कार्यक्रममा क्याम्पस प्रमुख दामोदर भण्डारीले हदम्याद भित्रै उच्च अदालत विराटनगरमा पुनरावेदन गर्ने जाने बताए पछि सरोकारवालाहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । भण्डारीले पुनरावेदन गर्न जाँदा धरानेहरुले अदालत भरिभराउ पार्न अपिल गरेका थिए ।
भुमिसुधारको निर्णयविरुद्ध पुनरावेदन गर्न वरिष्ठ अधिवक्ता हरिहर दाहालले तयार गरेको निवेदनको मस्यौदा हात परिसकेको बताउँदै प्रमुख भण्डारीले राय, सुझाव लिने कार्य भइरहेको बताए । उनले भने, ‘कानुन व्यवसायीहरु, विश्वविद्यालयको कानुनी सल्लाहकारलाई पनि मस्यौदा पठाएका छौ, उहाँहरुले हेरेर राय, सुझाव दिनुहुन्छ, ढिलोमा आउने बुधबार दर्ता हुन्छ, क्याम्पसको तर्फबाट त्यो दिन सबैको उपस्थिति होस । एक दिन उच्च अदालतमा धरानेहरुले भरौँ ।’
क्याम्पसले धरान ११ स्वास्तिका चोकमा १७ कट्ठा ११ धुर जग्गा खरिद गरेको थियो । उक्त जग्गामा विगत तीन बर्षदेखि मोही विवाद जारी छ । गत असोज २५ गते भुमिसुधार कार्यालय सुनसरीले क्याम्पसको जग्गामा मोही रहेका डम्बरबहादुर घिमिरेको छोराको नाममा मोही हक नामसारी गरिदिने निर्णय गरेको थियो । यो निर्णयले क्याम्पसको करोडौंको जग्गा आधा गुम्ने अवश्था रहेको छ ।
मोही प्रकरणमा तत्कालिन जग्गाधनी श्यामगोविन्द श्रेष्ठले तत्कालिन समयमा मोही भनिएका व्यक्तिहरुलाई खुशी बनाएर नै किनबेच भएको जानकारी दिए । उनले भने, ‘मोही सबैलाई खुशी पारेर दिएको हो, उनीहरु घर भत्काएर नै आफ्नो ठाउँतिर गएको हो ।’
उनले क्याम्पस, सामाजिक व्यक्तिहरु सबै बसेर किनबेच गरिएको पनि बताए । श्रेष्ठले महेन्द्र क्याम्पसको जग्गा उदाहरण मात्र भएको भन्दै धरानको सम्पुर्ण सार्वजनिक जग्गाहरु जोगाउनु पर्ने पनि बताए ।