धरान/ धरानलाई फुटबल खेलमा मिनी ब्राजिलको रुपमा चिनिने गरिन्छ । विभिन्न खेलहरुमा धरान अग्रस्थानमै रहेको छ । थप धरानको खेलकुदको विकासमा स्थानीय तहहरुले जोड दिएका छन् । स्थानीय स्तरको विकासको एउटा पाटो खेलकुद रहेको भन्दै स्थानीय तहको पनि वडावडाबाट टोलस्तरीय प्रतियोगिता हुन थालेका छन् ।
करिब तीन दशक देखि धरान उपमहानगरपालिका वडा नं. १७ ले प्रत्येक बर्ष सञ्चालन गर्दै आएकोे गोधुली फुटबल प्रतियोगिताबाट धरानको फुटबल खेलको विकास भएको पाइन्छ । गोधुली पश्चात शुरु भएको मोफसलकै सबैभन्दा ठूलो प्रतियोगिता सञ्चालन भएको बुढासुब्बा गोल्डकप पनि दुई दशकभन्दा लामो समय भइसकेको छ ।
क्लबले आफ्नो बलबुताले भ्याएसम्म आयोजना गर्ने गरेका यस्ता प्रतियोगितालाई स्थानीय सरकार धरान उपमहानगरपालिकाले समेत सहयोग गर्दै आएको छ । धरानको खेलकुदको विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले तत्कालीन मेयर स्व. तारा सुब्बाले मेयर कपको आयोजना गरेसंगै अहिले वडा वडाबाट समेत प्रतियोगिता हुन थालेका हुन् ।
यसैको निरन्तता दिदै धरान १४ ले गतबर्षदेखि टोल स्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । ग्रास रुटबाट नै फुटबलखेलको विकास गर्ने र स्थानीय स्तरबाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर वडाध्यक्ष कपको आयोजना गरेको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई बताउँछन् । स्थानीय युवाको व्यक्तित्व विकास, अनुशासन, विवेकशील बनाउन मात्र हैन राम्रो खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने बताए । उनले भने, ‘धरानबाट राम्रा खेलाडी उत्पादन गर्नकै लागि हामीले गतबर्षदेखि वडाध्यक्ष कप आयोजना गरेका हौं ।’
खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर १४ नंं वडा समिति अगाडि बढेको वडा कार्यालयले जनाएको छ । प्रतियोगितामात्र हैन समय समयमा खेलसम्बन्धी तालिम समेत प्रदान गर्दै आएको १४ नं. वडा समितिका सचिव अनिस भट्टराईले बताए । उनले भने, ‘हामीले खेलकुदका गतिविधिमात्र हैन समय समयमा खेलकुद सम्बन्धि तालिम समेत दिँदै आएका छौं ।’
वडा समितिको कामलाई स्थानीय बासिन्दाहरुले समेत प्रशंसा गर्दै सहयोग गर्ने गरेका छन् । धरान १४ का पंकज घिमिरेले वडास्तरबाटै शुरु भएको प्रतियोगिताले अन्य खेल खेल्न सहज हुने मात्र हैन खेलप्रति उनीहरुलाई रुची हुने बताए । उनले भने, ‘धरानलाई मिनी ब्राजिल भनेर चिनिन्छ, यहा धेरै खेलकुदका गतिविधि हुने गर्छन्, स्थानीय तहबाट नै यसरी खेलकुदको गतिविधि हुँदा धरानबाट खेलाडी उत्पादनमा सहयोग पुग्छ ।’