विराटनगर । प्रदेश १ का प्रमुख विपक्षी दलले संविधान सम्मत ढंगले बजेट ल्याउने वातावरण बनाउन भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गरेका छन् । प्रमुख विपक्षी कांग्रेससहित तीन दलले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ संग आइतबार भेटघाट गरी बजेटबारे ध्यानाकर्षण गरेका हुन । प्रदेश सरकारले कोरोनो बाहना बनाएर प्रदेशको बजेट अधिवेशन बोलाउन आलटाल गर्दै पूर्व बजेट छलफलसमत नगर्ने बरु अध्यादेशबाट बजेट ल्याउने तयारी थालेसंगै विपक्षी दलले प्रदेश प्रमुखको ध्यानाकर्षण गरिएको जनाएका छन ।
नेपाली कांग्रेसका नेता राजिव कोइरालाले संविधान र प्रदेश कानुनमा उल्लेख भएअनुसार असार १ गते प्रस्तुत हुने बजेट अगावै सरकारले नीति तथा कार्यक्रम ल्याउनु पर्ने र बजेटमाथि पूर्व छलफल गराउनु पर्ने भएकोले बजेट अधिवेशन डाक्न आग्रह गरे । कोइरालाले भने,“प्रकृयागत ढंगले बजेट आउनु पर्छ भन्ने हाम्रो माग हो ।”
कांग्रेस प्रमुख सचेतक केदार कार्कीले प्रदेश प्रमुखको जिम्मेवारी संविधानको पालना गराउने भएकोले प्रदेशको बजेट असार १ गते प्रदेशसभाबाटै प्रस्तुत हुनुपर्ने बताउँदै आर्थिक नियमावलीअनुसार पूर्व बजेट छलफल नगराई गराउन नमिल्ने भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराए । भने,“यसबारे प्रदेश प्रमुखबारे ध्यानाकर्षण गराउन चाहन्छौं । प्रदेशको अभिभावकको नाताले पनि प्रदेश प्रमुख कुनै एक दलको मात्र नभई सबै दल र समग्र जनताको प्रतिनिधि हुनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।”
कार्कीले कोरोना संकटका बेला समस्यामा परेका जनताको उपचार निःशुल्क हुनुपनेमा प्रदेश सरकार हराएको भन्ने नागरिकस्तरमा सन्देश गएको बताए । विपक्षी दलहरु प्रकृयागत ढंगले अघि बढेको भन्दै पहिले सरकारलाई ध्यानाकर्षण गराएको तर यो पटक प्रदेश प्रमुख समक्ष आएको कार्कीले सुनाए । नेकपाका माओवादी केन्द्रका सांसद विजय विश्वासले बजेट सदनबाट आउनु पर्ने आफूहरुको माग रहेको बताउँदै भने,“तर हामीले ध्यानाकर्षण गराउँदा समेत सरकारबाट कुनै रेस्पोन्स नआएकोले अध्यादेशबाट ल्याउने भन्ने सूचना आएको छ ।
यसप्रति प्रदेश प्रमुखले आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्छ भन्ने आशा छ ।” बजेट अधिवेशन बोलाउन प्रदेश पमुखले सरकार समक्ष आग्रह गर्न विपक्षी दलले सुझाव पनि दिएका छन । जसपा संसदीय दलका नेता जयराम यादवले प्रदेश सरकार जिम्मेवार ढंगले अघि बढ्नु पर्ने बेलामा त्यो नदेखिएको बताए । विपक्षी दलको प्रतिनिधि मण्डलमा कांग्रेस प्रमुख सेचतक सूयर्माराज राई र नेकपा माओवादीका सांसद कुशल लिम्बू पनि सहभागी थिए ।