धरान । प्रेस संगठन नेपाल रामधुनी नगर कमिटीको संयोजकमा शिशिर भट्टराई चयन भएका छन् ।
संगठनको विहिबार भएको रामधुनी नगर स्तरिय भेलाले भट्टराईलाई संयोजकमा चयन गरेको हो । उनको संयोजकत्वमा ७ सदस्यीय प्रेस संगठन नेपाल रामधुनी नगरकमिटी चयन भएको छ ।
कमिटिको सहसंयोजकमा मान्यता साह चयन भएकी छिन् । सदस्यहरुमा तुलसी खँड्का, प्रकृति रौनियार, सुरज सदा, अमन ढुंगेल र अन्जना चौधरी चयन भएका छन् ।
कार्यक्रममा नेकपा सुनसरी संगठन विभाग प्रमुख नन्दकुमार बस्नेतले नवनिर्वाचित कमिटिलाई पद तथा गोपनियताको सपथ गराएका थिए । कमिटिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले जस्तो सुकै प्रतिकुल परिस्थितीमा पनि पत्रकारिता स्वच्छ, सन्तुलित र मर्यादित हुनुपर्ने बताए ।
संगठनका प्रदेश १ संयोजक तथा नेकपा सुनसरी प्रचारप्रसार इन्चार्ज राजन केडीले कोभिड १९ को महामारी वा यस्तै कुनैपनि बहानामा सञ्चार उद्योगी, पत्रकार वा पत्रकार सम्बद्ध संगठन कसैले पनि पत्रकार र पत्रकारिताको मर्यादालाई गिजोल्न नहुने बताए । यस्तो कसैले गरिरहेको भए पत्रकारिताको हैसियत र स्तर कायम राख्न प्रेस संगठन नेपाल कटिवद्ध रहेको बताए ।
नेकपा सुनसरी प्रचारप्रसार सहइन्चार्ज योग्यराज खँड्का, रामधुनी नगर इन्चार्ज श्यामनारायण राजधामी लगायतले नवनिर्वाचित कमिटिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । पार्टीका रामधुनी नगर अध्यक्ष राम कोइराला नेतृत्वको निर्वाचन मण्डलले नवनिर्वाचित कार्यसमितिको घोषणा गरेको थियो ।
संगठनका सुनसरी संयोजक श्रीशीशा राईको अध्यक्षता र सहसंयोजक शेखर ढकालको सञ्चालनमा सम्पन्न कार्यक्रममा संगठनको बराहक्षेत्र नगर संयोजक तथा जिल्ला सदस्य अच्युत भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।