धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिषरमा जननायक वीपी कोइरालाको सालिक अनावरण गरिएको छ ।
कोइरालाको १ सय ७ औं जन्मजयन्ती तथा प्रतिष्ठानको २७ औं स्थापना दिवशको अवसरमा कोइरालाको सालिक अनावरण गरिएको हो । प्रतिष्ठान स्वर्गीय कोइरालाकै स्मृतिमा स्थापना भएको थियो ।
बुधबार प्रतिष्ठानको ओपडी भवन अगाडीको खाली पार्कमा जननायक कोइरालाको ७ फिटको सालिक अनावरण गरिनुका साथै विविध कार्यक्रम पनि गरिएको छ । सालिक अनावरण प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गीरीले गरेका थिए । उक्त शालिक कलाकार तथा मुर्तिकार बिक्रम श्रीले बनाएका हुन् । सालिक निर्माणमा ६ लाख रुपैंया खर्च भएको जनाएको छ ।
उपकुलपति गिरी आएको केही दिनमै उपकुलपतिको कार्यकक्षमा रहेको कोइरालाको तश्वीर हटाएको भन्दै आचोलना भएको थियो । उपकुलपति डा. गिरीले प्रतिष्ठानको विकास र विस्तारमा आफु निरन्तर लागि रहेको बताउँदै प्रतिष्ठान भित्र रहेको वेथितिहरु हटाउन आएको बताए ।
सालिक अनावरण कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी, अस्पताल निर्देशक डा. गौरिशंकर शाह, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी लगायत प्रतिष्ठानका कर्मचारी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका स्वर्गियवीपी कोइरालालको विक्रम संवत १९७१ साल भदौ २४ गते जन्म भएको थियो । भने, वीपी प्रतिष्ठानको आजभन्दा २७ वर्ष अगाडी आजकै दिनमा स्थापना भएको थियो ।