सुनसरी । सिचाई सुविधाको माग गर्दै सुनसरी सदरमुकाम इनरुवा ६ मधेसाका सयौं किसान आन्दोलित बनेका छन् । किसानहरुले समयमै सिंचाईको सुविधाका लागि नहर, कुलो पैनी सफाई लगायत किसानहरुले पाउनु पर्ने सेवा सुविधाहरु उपलब्ध नगराएको भन्दै किसानहरु वडा कार्यालयनै घेराउ गरेका छन् ।
सुनसरीको सदरमुकाम इनरुवाका वडा नम्बर ६ का किसानहरुले करिव ४ सय ५० हेक्टर जग्गामा धानबाली लगाएका छन् । धानबाली पहेलो भइसक्दा पनि मल पाएका छैनन् भने सिचाईको पानी समेत उपयोग गर्न पाएका छैनन् । सुनसरीको सदरमुकाम इनरुवाको वडा नम्बर ६ का किसानहरुले बन्दाबन्दीको प्रवाह नगरी ७ सुत्रिय माग सहित आन्दोलनमा उत्रिएका छन् । वार्ड कार्यालयले कुनै समन्वय नगर्दा बाली त्यसै खेर जाने अवश्थामा रहेको किसानहरु बताउँछन ।
यहाँका करिव सयको संख्यामा रहेका किसानहरुले समयमै सिंचाईको सुविधाका लागि नहर , कुलो पैनी सफाई गर्नुपर्ने, वडाबाट किसानले पाउनु पर्ने सेवा सुविधाको माग गर्दै आन्दोलनमा उत्रेको स्थानीय कृषक सुमन थापाले बताए । उनले भने, ‘वडामा सिंचाईको सुविधा छैन्, सरकारले समयमा किसानको समस्या समाधान गर्नुपर्ने माग राख्दै बाध्य भएर आन्दोलनमा उत्रेको हो ।’
वडा अध्यक्षको अनियमितता र किसान प्रतिको वेवास्ता बढेकाले मधेसाका किसान आन्दोलनमा उत्रिएका किसान राजेश शर्माको भनाई छ । उनले भने, ‘किसानलाई आवश्यक पर्ने मल, खाद र विषाधीको उपलब्ध गराउनुपर्ने, किसानको समस्या सामाधान गर्नुपर्ने, यहाँ भएको नहर कुलो पैनि सफाई गर्नुपर्ने, कृषिको बजेट र वडाको बजेट खर्च सार्वजनिक गर्नु पर्छ ।’ वडाका सबै किसानहरुलाई थाहा हुने गरि खर्चको पारदर्शिताको माग गरेको उनले बताए ।
धान खेतमा हाल्ने रासायनिक मल तथा सिंचाइ सुविधाको व्यवस्था समयमै नगरिदिएकाले किसानहरु समस्यामा परेका छन् । किसानहरुले पाउने सेवा सुविधामा वडा अध्यक्षको अनियमितता र किसान प्रतिको वेवास्ता बढेकाले मधेसाका किसान आन्दोलनमा उत्रिएका छन् । समस्याको समाधानका लागि किसान समेतको समन्वय र साझेदारीमा पहल अघि बढेको वडाअध्यक्षको दाबी छ ।
कर्मचारीहरुहरुले स्थानीय तह चलाउँदा पनि कृषकहरु मलखाद, बिउँ, सिचाई कै लागि आन्दोलन गरिरहनु परेको थियो । अहिले जनप्रतिनिधीहरु आइसक्दा पनि पुरानै माग राखेर आन्दोलन गर्न बाध्य भइरहेका छन् ।