इटहरी । कोरोनाको त्रासले बजार नखोल्ने अडानमा बसेका सुनसरीका व्यवसायीहरू अहिले आफै पसल खोल्न पाउनुपर्ने पक्षमा देखिएका छन । जिल्ला प्रसाशनको कार्यालय सुनसरीमा सोमबार बसेको बैठकमा अधिकांस ब्यवसायीहरूले चाडपर्व नजिकिएसंगै व्यवसाय सुचारू गर्न पाउनुपर्ने माग गरेका थिए ।
ब्यवसायीहरूको मागलाइ मध्यनजर गर्दै जिल्ला प्रशासनको कार्यालय सुनसरीले आगामी भदौ १८ गते देखि जिल्लाभरी रहेका ब्यापार व्यवसायहरू सञ्चालन गर्ने तयारी थालेको छ । आवश्यकीय सुरक्षा सतर्कता अपनाइ सचेतना जगाउदै भिडभाड नहुने गरी बिहान ११ बजे सम्म पसलहरू खोल्ने तयारी भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलले बताए ।
ब्यवसायहरू सञ्चालनमा ल्याउने भनिए पनि फिल्म हल, शैलुन, ब्युटी पार्लर भने बन्द नै रहने जनाइएको छ । प्रसाशनले भदौ १८ गते देखि ब्यवसाय खोल्ने तयारी गरेसंगै इटहरीमा पनि साना तथा ठुला ब्यवसायीहरू आ–आफ्नो पसलहरू खोल्ने तयारीमा लागेका छन । यस अघि चौथो पटक म्याद थप्दै भदौ १७ गते राती १२ बजे सम्म जिल्लालाइ निषेधित क्षेत्र घोषणा गरीएको थियो ।
हिन्दु नेपालीहरूको महान पर्व बडादशै र तिहार नजिकिए संगै धेरैजसो ब्यवसायीहरूले पसल खोल्न पाउनुपर्ने माग राखेसंगै सोमबार बिहान जिल्लामा रहेका सबै उद्योग वाणिज्य संघका पदाधिकारीहरू संग अब के गर्ने भन्ने बिषयमा छलफल गरिएको छ । सोहि छलफलबाट सिमित समय तोकेर ब्यवसाय खोल्न दिने निर्णय भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलले बताए ।