धरान । कोरोना संक्रमितको संख्या उच्च दरमा बढ्दै गए पछि साउन २८ गते सम्म आव्हान गरिएको धरानको लकडाउनको समयावधि बढ्ने निश्चित भएको छ । लकडाउन लम्बिए पनि उपभोग्य वस्तुका पसलहरुहरु भने खुल्न सक्ने देखिएको छ ।
लकडाउनको समयावधि बढ्ने निश्चित भए पनि अति आवश्यकीय वस्तुहरुको उपलब्धताको विषयमा भने छलफल भइरहेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए । लकडाउनकै समयमा पनि कोरोना संक्रमणको संख्या उच्च दरमा बढिरहेकाले लकडाउन लम्बिने निश्चित रहेको बताए । उनले भने, ‘साउन २८ गते सम्म भनेका छौं तर संक्रमणको संख्या उच्च दरमा बढिरहेको छ । त्यसैले तत्कालै लकडाउनलाई खोल्ने वा खुकुलो बनाउने अवश्था छैन ।’
सुनसरी जिल्ला प्रशासन कार्यालयले पनि साउन २६ गते सम्मको निषेधाज्ञा बढाएर साउन ३२ गते सम्म पुर्याएको छ । सोही अनुसार पनि लकडाउनको समय थपिने उनको भनाई छ ।
दोस्रो चरणको लकडाउनमा दुधजन्य वस्तु लगायत तरकारी बोक्ने गाडिहरु समेत बन्द रहेको थियो । औषधीजन्य वस्तुका पसल देखि बाहेक सबै किसिमका सेवाहरु बन्द गरेको अवश्थामा स्थानीयहरुबाट पनि विरोध आउँन थालेको छ । उपभोग्य वस्तुहरुको अभाव हुने भएकाले अति आवश्यकीय वस्तुहरुको विषयमा छलफल भइरहेको पनि उनले बताए । उनले भने, खाद्यान्न, दुधजन्य वस्तु, तरकारी पसलहरुको विषयमा छलफल हुन सक्छ तर बन्दलाई चै निरन्तर दिनुपर्ने आवश्यक्ता महशुष भइरहेको छ ।’ अति आवश्यक वस्तुहरुको व्यवस्थापन गर्न छलफल गरेर टुङ्गो लगाउने उनको भनाई छ ।