सुनसरी । भारतीय न्युज च्यानलहरुले नेपालको विषयमा अतिरञ्जित सामग्री प्रसारण गरेको भन्दै केही भारतीय च्यानल बन्द गरेको थियो । तर धरानका एउटा केवलले भने बन्द घोषणा गरिएको च्यानल पनि प्रसारण गरिरहेको पाइएको छ ।
धरान स्थित धरान केबलको प्रसारण लाईनबाट प्रतिबन्ध गरिएका भारतीय च्यानल प्रसारण गरेको पाइएको छ । गत असार २५ गते च्यानल वितरक कम्पनीहरुले चिन सँग जोडेर नेपालका बारेमा अतिरञ्जित सामग्री प्रशारण गरेको भन्दै कम्पनीहरुले स्वतः स्फुर्त रुपमा त्यस्ता च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेको थियो ।
धरान केबलले आज तक लगायतका भारतीय च्यानलहरु अझै पनि प्रसारण गरिरहेको छ । सबैले बन्द गरेको च्यानल धरान केबलले मात्रै प्रसारण गरेको भन्दै स्थानीयले पनि आपत्ति जनाएका छन् । तुरुन्तै बन्द गराउनु पर्ने उनीहरुले माग गरेका छन् ।
यता धरान केबलले प्रसारण गर्दै आएको कृति टेलिभिजनका कार्यकारी निर्देशक मोहन श्रेष्ठले प्रतिबन्धीत च्यानलहरु बन्दनै रहेको र केही दिन अघि खुलाउन सकिने जानकारी आएकाले पुनः प्रसारण शुरु गरिएको बताए । भारतीय सञ्चारमाध्यमले माफि मागिसकेको भन्ने कुरा आएकाले खुलाउन सकिने भन्ने भए पछि खुलाई दिएको धरान केबलका अध्यक्ष सोकेन श्रेष्ठको भनाईलाई उद्धृत गर्दै श्रेष्ठले बताए ।