धनकुटा / धनकुटाको पाख्रीवास नगरपालिकाले ७५ प्रतिशत अनुदानमा किसानहरुलाई कागती र सुन्तलाको विरुवा वितरण गरेको छ ।
पाख्रीवासका किसानहरुलाई फलफुल खेतीमा व्यवसायिक बनाउन ९३ जना किसानलाई ३ हजार विरुवा वितरण गरिएको पाख्रीवास नगरपालिका कृषि शाखाकी प्रमुख ईन्द्रमाया तामाङले बताईन् । सबै वडामा गरी २ सय रोपनी क्षेत्रफलमा पुग्ने गरी ३ हजार संख्यामा किसमानलाई कागती र सुन्तलाको विरुवा वितरण गरिएको नगर प्रमुख बृर्ष बहादुर राईले बताए ।
चालु आर्थिक वर्षको किसानहरुलाई फलफुल खेतीमा व्यवसायिक बनाउने वर्षे कार्यक्रम अन्तरगत किसानलाई विरुवा वितरण गरिएको कृषि शाखाले जनाएको छ ।
कृषि र पर्यटनको प्रशस्त संम्भावना रहेको पाख्रीवास नगरपालिकाका १० वटै वडामा फलफुल खेती गर्न सकिन्छ । सो नगरपालिकाले पछिल्लो समयमा आएर कृषि र पर्यटनको प्रवद्र्धनलाई प्राथमिकता दिदैं आएको छ । कृषिबाट नगरवासीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ चालु आर्थिक वर्षदेखि नै पाख्रीवास नगरपालिकामा व्यवसायिक कफी खेती पनि शुरु गरिएको छ ।
कृषिसँगै पर्यटनको पनि प्रशस्त संम्भावना बोकेको पाख्रीवास नगरपालिकाको समृद्धिको लागि भर्खरै सम्पन्न भएको नगरसभाले पनि कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको नगर प्रमुख राईले बताए ।